बैतडी कांग्रेसका पूर्वसभापतिहरूद्वारा विशेषवालाको वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन अपील

काठमाडौं । नेपाली कांग्रेस, बैतडीका चार जना पूर्व जिल्ला सभापतिहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले गर्न लागेको वडा अधिवेशन लगायतका गतिविधिमा सहभागी नहुन अपील गरेका छन् ।

सोमबार पूर्वसभापतिहरू नरेन्द्रबहादुर बम, शिवराज भट्ट, नरेन्द्रसिंह विष्ट र नरबहादुर चन्दले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको गतिविधिमा सहभागी नहुन अपील गरेका हुन् ।

अपीलमा भनिएको छ, ‘पार्टी एकढिक्का नहुँदासम्म एकतर्फी रूपमा अधि बढाइने भनिएका वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन नेपाली कांग्रेस बैतडीका सम्पूर्ण क्रियाशील सदस्य साथीहरूमा हार्दिक अपील गर्दछौं ।’

‘पार्टीभित्रको विद्यमान विवादका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा समेत एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अधि बढाउने कार्यले पार्टीलाई एकताबद्ध देख्न चाहने आम नेता–कार्यकर्ताको भावना र विश्वासमाथि गम्भीर आघात पुगेको छ,’ अपीलमा भनिएको छ ।

‘वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा तथा पार्टीको सुदृद भविष्यका लागि नेपाली कांग्रेसको सम्पूर्ण एकता अपरिहार्य छ,’ पूर्वसभापतिहरूले भनेका छन् ।

‘अतः पार्टी नेतृत्वका सबै पक्षलाई आपसी संवाद, सहमति र समझदारीका आधारमा विवाद समाधान गरी सहमर्तिक आधारमा नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न हार्दिक आग्रह गर्दछौं,’ अपीलमा भनिएको छ, ‘पार्टीलाई विभाजन होइन, एकता, सहमति र लोकतान्त्रिक विधिबाट बलियो बनाऔँ ।’

पूर्वसभापतिहरूले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य धरोहरका रूपमा रहेको नेपाली कांग्रेस पार्टीमा विगत केही महिनादेखि देखिएको मतभेद र विवादले नेपाली जनताको लामो तथा बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरू नै गुम्न सके परिस्थिति उत्पन्न हुने संकेत देखिएको बताएका छन् । उनीहरू भने, ‘हामी गम्भीर र चिन्तित भएका छौँ नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय बिना विशेष महाधिवेशनका नाममा गरिएको भेला तथा त्यसबाट अघि बढाइएका गतिविधिले पार्टीभित्र विभाजनको बीजारोपण गरेको हाम्रो ठहर छ ।’

Published : Monday, 2026 September 14, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया