बबाल भएपछि शिक्षामन्त्री पोखरेल ज्यान जोगाएर बाहिरिए, भिडियो नखिच्न भनेपछि लफडा

औरही । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै स्थानीय नेता तथा कार्यकर्ताहरूका कारण लफडा भएको छ ।

शनिबार सिहारको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यपुस्तक परिमार्जन कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल पुगेका थिए । मन्त्री पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मञ्चभन्दा तल रहेका केही व्यक्तिहरूबीच भनाभन र धक्कामुक्का भएको भिडियोमा देखिएको छ ।

शुरुमा कार्यक्रम सहजरुपमा सञ्चालन भएको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले जानकारी दिएका छन् । अध्यक्ष यादवका अध्यक्ष गाउँपालिकाको शिक्षा शाखाका प्रमुखले कार्यक्रम सञ्चालन गरिरहेका थिए । गाउँपालिकाका कर्मचारी एवम् शिक्षा शाखाका प्रमुखलाई कार्यक्रमको उद्घोषकबाट हटाएर मन्त्री पोखरेलसँग आएका एक व्यक्तिले कार्यक्रमको उद्घोषण र सञ्चालन गर्न थाले त्यसपछि लफडा शुरु भएको थियो ।

मन्त्री पोखरेलसँग आएका व्यक्तिले मञ्चमा बसेका व्यक्ति र नेताहरूले चिनेका थिएनन् । बोल्ने पालो रहेका जनप्रतिनिधिहरूको नाम काटेर मन्त्री पोखरेलसँग आएका व्यक्तिले सिधै मन्त्री पोखरेललाई बोल्न समय दिएपछि विरोध भएको थियो ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले मन्त्रीसँग आएको व्यक्तिले आफूहरूको उद्घोषकलाई हटाएर उद्घोषण गर्न थालेपछि कार्यक्रम सञ्चालनमा समस्या भएको बताए । मन्त्रीसँग आएको व्यक्तिले कार्यक्रम सञ्चालन गर्दा सिरहा जिल्ला समन्वय समितिका संयोजक दिनेश महतोलाई बोल्न समय नदिएको बताए । अध्यक्ष यादवले त्यो विषयलाई पनि आफूले मिलाएको बताए । औहरी गाउँपालिकाका रास्वपाका सभापति सन्तोष यादवले पनि बोल्ने समय माग गरेका थिए । उनको पनि नाम काटिएको थियो ।

रास्वपाका औरहीका सभापति सन्तोष यादव स्थानीय पत्रकार पनि हुन् । उनले मन्त्री पोखरेलले बोलिरहेका बेला भिडियो बनाएका थिए । यद्यपि, मन्त्री पोखरेलसँग आएका सहयोगीले भिडियो नबनाउन दबाव दिएपछि रास्वपाका सभापति समेत रहेका सञ्चारकर्मी सन्तोष यादव र मन्त्री पोखरेलका सहयोगबीच भनाभन हुँदा कार्यक्रम बिथोलिएको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले जानकारी दिएका छन् ।

कार्यक्रममा लफडा भएपछि आफूसहित शिक्षामन्त्री पोखरेललाई सुरक्षाकर्मीले कार्यक्रमको हलबाट सुरक्षित रुपमा बाहिर लगेको औरहीका अध्यक्ष यादवले बताए ।

औरहीमा मन्त्री पोखरेलको कार्यक्रममा भएको घटनाका बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख (एसपी) बासुदेव पाठकसँग सम्पर्क गर्दा उनको फोन लागेन । सिरहा प्रहरीको प्रवक्ताको फोनमा सम्पर्क गर्दा प्रवक्ता बिदामा रहेको भन्दै फोन उठाउने प्रहरी निरीक्षकले घटनाका विषयमा आफूलाई केही जानकारी नरहेको र बुझेर बताउने उल्लेख गरेका छन् ।

Published : Saturday, 2026 September 12, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया