बिगतमा बिभिन्न काण्डहरूमा मुछिएका सांसद सुनार किन आईजीपीविरुद्ध निरन्तर प्रहार गरिरहन्छन् ?

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र उनकी पत्नीमाथि झुठ्ठा आरोप लगाउँदै अभिव्यक्ति दिएपछि सुनारको आलोचना भइरहेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सुनारले शून्य समयमा बोल्दै आईजीपी कार्की र उनकी पत्नीबारे प्रमाणित नै नभएको विषयमा मुछेर तथानाम अभिव्यक्ति दिएपछि सुनारको आलोचना भएको हो । सामाजिक सञ्जालमा प्रहरीको आईजीपी हुन सांसद नसक्ने तर, आईजीपीले चाह्यो भने सांसद बन्न सक्ने टिप्पणीहरू भइरहेका छन् । धेरै पूर्वप्रहरीहरू सांसद र मन्त्री तथा राजनीतिक दलको नेता भएका प्रशस्त उदाहरण छन् ।

सुनारतर्फ लक्षित गरेर सामाजिक सञ्जालमा एउटा अभियुक्त चुनाव जितेर आउँछ र आफूमाथि छानबिन रोक्न प्रहरी प्रमुखविरुद्ध कहिले संसदीय समिति त कहिले संसद बैठककै समय दुरुपयोग गर्दछ भनेर टिप्पणी भएका छन् ।

‘प्रहरी प्रमुखले गल्ती गरे पदमा छँदै कारबाही गरिएका दृष्टान्त छँदैछन् । सरकार आफ्नै छ, छानबिन गर्न केले रोक्यो ? जनमत कहिल्यै अपराध कर्मको लाइसेन्स हुन सक्दैन । जनताले त सञ्जय टक्लादेखि बबन सिंहसम्मलाई पनि जिताएका हुन् । जात, धर्मभन्दा माथि उठेर गलतलाई गलत भनौँ,’ भन्ने स्टाटस धमाधम सामाजिक सञ्जालमा सेयर भएका छन् ।

‘प्रहरी महानिरिक्षक, मात्र एउटा पद होइन, यो नागरिक सुरक्षा र सुशासनको मुख्य जिम्मेवार सस्थागत प्रतिनिधि पनि हो । तर, केही साता यता प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तेजोबध गर्ने अनेकौ प्रयास हुँदै आएको छ र त्यो पनि सत्तारूढ पक्षबाटै,’ सामाजिक सञ्जालका भित्ताहरूमा लेखिएका छन् ।

‘प्रहरीको मानमर्दन गरेर सुशासन र कानूनीराजको अभ्यास कसरी गर्न खोजिएको हो आश्चर्यको विषय बनेको छ,’ सामाजिक सञ्जालमा लेखिएका छन् ।

‘दानबहादुर कार्की, नेपाल प्रहरीको इतिहासमै सर्बाधिक बेदाग सीमित प्रहरी अधिकारीहरूमध्ये पर्छन् । एक बिशुद्ध ब्यबशायिक प्रहरीका रूपमा चिनिने कार्की कहिल्यै कन्ट्रोभर्सिएल रहेनन् । एक खरो, इमान्दार र स्पष्ट ब्यक्ति भएकोले कसैको अवान्छित इच्छा या योजनाको सारथी बन्ने तत्परता उहामा कहिल्यै देखिएन । यदी कसैले कार्कीप्रति असन्तुष्टि प्रकट गरिरहेका छन भने बुझ्नुपर्छ – या त त्यो ब्यक्ति आपराधिक पृष्ठभूमिको छ या उसको गैरकानूनी आकांक्षा पूरा हुन सकेन,’ भन्ने स्टाटस सामाजिक सञ्जालमा सेयर भएका छन् ।

‘राष्ट्रको एक जिम्मेवार सुरक्षा निकायको नेतृत्वको मानमर्दन गरेर कुनै पनि सरकारले आफ्नो सकारात्मक लक्ष्य हासिल गर्न सक्नेछैन । सडकमा अचानक साङ्लोमा बेरिएर चिच्याएकै भरमा कोही ब्यक्ति सांसद पनि बन्न सक्छन् भन्ने त देखियो । तर, त्यसरी आइजीपी होइन एउटा प्रहरी जवान पनि बन्न सकिदैन । सम्बन्धित पक्षले हेक्का राख्नु राम्रो,’ सामाजिक सञ्जालमा सेयर भएका स्टासहरूमा लेखिएका छन् ।

सांसद हुनुभन्दा अगाडि सुनारविरुद्ध विभिन्न जिल्लामा मुद्दाहरू चलेका छन् । ती मुद्दा बिचाराधीन पनि छन् । प्रहरीले सुनारविरुद्ध अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको वा आफूले भएअनुसारको हुन नसकेको कारणले रिसाएका सुनारले आईजीपी कार्कीविरुद्ध निरन्तर व्यक्तिगत रुपमा प्रहार गरेको आशंका हुन थालेको छ । सुनार आफैमा बिगतमा अभियुक्त पनि रहेका थिए ।

सांसद सुनारसँगको साँठगाठमा दलाल, तस्करहरूले सार्वजनिक लेखा समितिमा दिएको बेनामे उजुरीको भरमा सुनारले आक्षेप लगाउँदा सभामुख डोलप्रसाद अर्याल र रास्वपाका सभापति रवि लामिछाने किन मौन बसिरहेका छन् ? प्रश्न उठेको छ । सांसदले प्रहरी संगठनको प्रमुख र उनको पत्नीविरुद्ध जे मन लाग्यो त्यो अभिव्यक्ति संसदको बैठकमा दिन मिल्छ ? प्रश्न उठेको छ । आईजीपी कार्कीविरुद्ध सांसद सुनारले किन निरन्तर प्रहार गरिरहेका छन् कुरा प्रष्ट छ । सबैले बुझेका छन् । सबैभन्दा राम्रोसँग सांसद सुनारले नै बुझेका छन् ।

Published : Friday, 2026 September 11, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया