कांग्रेसका २५ नेताहरू अपील- अहँकार त्याग गरेर महाधिवेशनको मिति सारौँ, बृहत एकता खोजौँ

काठमाडौं । नेपाली कांग्रेसका २५ जना नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन् ।

कांग्रेसको आधिकारिकताको विवादको मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न लागेको छ । शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्दैछ । कांग्रेसका नाममा १५ औं महाधिवेशन दुई वटा हुँदैछ ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले शुक्रबार संयुक्त अपील जारी गर्दै दुवै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका हुन् ।

कांग्रेस नेता रामहरि खतिवडाले दुबै पक्षले महाधिवेशनको कार्यतालिका स्थगित गरेर गम्भीर समीक्षासहित वार्ता गरेर पार्टीमा बृहत एकता कायम गर्न आग्रह गरेका छन् । खतिवडाले भने, ‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुबै पक्षबाट जारी गरिएका १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं ।’

कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरूङ, शान्ति परियार बि.क., सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, अनिल रूंगाटा, बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ लगायत नेताहरूले अपील जारी गरेका हुन् ।

अपीलमा भनिएको छ, ‘देश यतिबेला गम्भीर संकट र विपद्को अवस्थामा छ । राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको छ । सरकार विपद्को बेलामा पनि एकाङ्गी ढङ्गले अघि बढिरहेको देखिन्छ भने राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएका छन् ।’

‘प्रणालीलाई बलियो बनाउनेभन्दा व्यक्तिलाई बलियो बनाउने प्रवृत्ति बढ्दै गएको छ,’ अपीलमा भनिएको छ ।

‘यस्तो अवस्थामा नेपालको राष्ट्रियता र भूराजनीतिक परिस्थिति थप पेचिलो बन्दै गएको छ,’ अपीलमा भनिएको छ, ‘आन्तरिक राजनीतिक अस्थिरता र विभाजनले बाह्य शक्ति केन्द्रहरूको प्रभाव बढ्ने जोखिमसमेत रहन्छ । त्यसैले राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू थप जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्नेआवश्यकता छ ।’

अपीलमा भनिएको छ, ‘नेपालको हरेक संकटमा एउटा मियो बनेर उभिँदै आएको नेपाली कांग्रेस अहिले आन्तरिक कलहमा रुमलिँदा त्यसको असर कांग्रेस पार्टीमा मात्रै सीमित छैन, यसले समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन बनाइरहेको छ । यस्तो अवस्थामा कांग्रेसभित्रको विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभाजित बनाउनेतर्फ अघि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा हुँदैन ।’

‘नेपालको राजनीतिमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रको प्रभाव परिरहेको संवेदनशील परिस्थितिमा नेपालको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई जोगाउँदै समृद्ध र सबल राष्ट्र निर्माण गर्न नेपाली कांग्रेसको भूमिका अझ महत्वपूर्ण बनेको छ,’ अपीलमा भनिएको छ, ‘१५औँ महाधिवेशनको संघारमा जे–जसरी विशेष महाधिवेशन भयो, त्यसबाट हामीले विभिन्न तीता–मिठा अनुभवहरू प्राप्त गरेका छौं ।’

नेताहरूले भनेका छन्, ‘ती अनुभवबाट पाठ सिक्दै अब विगतका विवाद र मतभेदलाई बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने संकल्प गर्नुपर्छ ।’

‘यसका लागि कांग्रेसको सिंगो नेतृत्व पंक्ति एक ठाउँमा बसेर गहन छलफल गर्न र साझा निष्कर्षमा पुग्न आवश्यक छ,’ अपीलमा भनिएको छ, ‘सबैले आ–आफ्नो अहंकार, आग्रह र व्यक्तिगत स्वार्थ त्याग्दै पार्टीको बृहत हितलाई केन्द्रमा राखेर हाल चलिरहेको विवादको तत्काल निकास खोज्न आग्रह गर्दछौं ।’

‘आगामी १५औँ महाधिवेशनमा कांग्रेसका सबै सदस्यहरू सहभागी हुनसक्ने वातावरण निर्माण गर्दै नेपाली कांग्रेसको सबल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न हामी सबै एक भएर अघि बढ्न आवश्यक छ,’ अपीलमा भनिएको छ, ‘कांग्रेसको बृहत एकताका लागि वर्तमान पार्टी सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण रहनेछ ।’

‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुवै पक्षवाट जारी गरिएका १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं,’ अपीलमा भनिएको छ ।

‘देश संकटमा रहेको यस संवेदनशील घडीमा नेपाली कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न हार्दिक अपील गर्दछौं,’ अपीलमा भनिएको छ ।

Published : Friday, 2026 September 11, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया