दुईतर्फबाट अधिवेशनको प्रक्रिया अघि बढे पनि दुईवटा कांग्रेस होइन, असहज परिस्थिति हो : नेता मल्ल

काठमाडौं । नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पार्टीभित्र अहिले देखिएको असहमति, अन्योल र १५औँ महाधिवेशनको फरक–फरक कार्यतालिकाले सबैलाई गम्भीर बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् नेता मल्लले तथाकथित विशेष महाधिवेशनपछि उत्पन्न विवाद अदालतमा विचाराधीन रहेको बताएका छन् ।

‘यस्तो अवस्थामा दुईतर्फबाट अधिवेशनको प्रक्रिया अघि बढे पनि यो दुईवटा कांग्रेस होइन, एउटै कांग्रेसभित्रको असहज परिस्थिति हो,’ उनले भने, ‘अन्ततः कांग्रेस एक भएरै अघि बढ्नुपर्छ भन्ने मेरो सधैँभरिको मान्यता अहिले पनि रहँदै आएको छ ।’

नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य समेत रहेका नेता मल्लले भने, ‘म १४औँ महाधिवेशनमा पर्वतबाट जिल्ला सभापतिको उम्मेदवार बनेर थोरै मतले पराजित भएको व्यक्ति हुँ । स्थानीय तहको नेतृत्वमा पाँच वर्ष स्थानीय प्रमुख भएर काम गर्ने अवसर पनि नेपाली कांग्रेसले नै दिएको हो । त्यसैले मेरो आजको आवाज कुनै पद, गुट वा व्यक्तिगत स्वार्थका लागि होइन, नेपाली कांग्रेसप्रतिको माया, विश्वास र जिम्मेवारीबोधका कारण हो ।’

उनले भने, ‘हामीले विगतमा गुट, भागबण्डा र व्यक्तिपूजाको परिणाम देखिसकेका छौँ । अब त्यसबाट माथि उठ्नुपर्छ । कसले कुन गुटमा ठाउँ पाउँछ भन्ने होइन, योग्य र सक्षम कार्यकर्ताले संगठन र निर्वाचनमा अवसर पाउँछ कि पाउँदैन भन्ने मुख्य प्रश्न हो ।’

‘आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा टिकट पाउन कसैको चाकडी, गुलामी वा शक्तिको ढोका धाउनुपर्ने अवस्था हुनुहुँदैन,’ नेता मल्लले भने, ‘जनतासँग निरन्तर जोडिएको, इमानदार, सक्षम र जित्न सक्ने व्यक्तिलाई सम्बन्धित तहबाटै अवसर दिने संस्कार विकास अब सुरुवात गर्ने हो हामीले ।’

‘वर्षौंदेखि गाउँ–गाउँमा दुःख गरेर पार्टी र जनताको काम गरिरहेका कार्यकर्ताको मूल्यांकन भएको छैन,’ नेता मल्लले भनेका छन् ।

‘अहिले सामाजिक सञ्जालमा गगन थापाको कांग्रेस र शेरबहादुर देउवाको कांग्रेस भनेर भ्रम सिर्जना गर्ने प्रयास पनि भइरहेका छन्,’ मल्लले भने, ‘मेरो बुझाइमा कांग्रेस कुनै एक व्यक्तिको होइन कांग्रेस सबै कांग्रेसजनको साझा पार्टी हो । व्यक्तिभन्दा पार्टी ठूलो हो ।’

‘आज को अगाडि र को पछाडि भन्नेभन्दा पनि अन्ततः नेपाली कांग्रेसको आधिकारिकता र वैधानिक प्रक्रियाको सम्मान गर्दै, सबैलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउनु नै हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

यसैबीच, नेता मल्लले पर्वत कांग्रेसका नेता तथा साथीहरूलाई आग्रह गर्दै कसैको भ्रम, दबाब वा व्यक्तिगत स्वार्थको पछि नलाग्न आग्रह गरेका छन् । उनले यही उद्देश्यले भदौ २८ गते बिहान ११ बजे होटेल फ्रेन्डली कुस्मामा पार्टीका सबै नेता तथा कार्यकताहरूसँग छलफल गर्ने कार्यक्रम राखिएको बताएका छन् ।

Published : Friday, 2026 September 11, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया