अहिले नेपाल नेपालीकै हातमा छैन, भदौ २४ लाई कालो दिन भनेका हौं : प्रचण्ड

लहान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको बताएका छन् ।

बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै दाहालले संविधान र जनताको अधिकारमाथि संकट उत्पन्न भएको बताए । उनले गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालको राजनीतिक अवस्था थप जटिल बनेको बताएका छन् ।

‘नेपाल राष्ट्र रहने हो कि होइन भन्ने चिन्ता नेपाली जनताको मनमा पैदा भएको छ,’ दाहालले भने, ‘देशमा फेरि अर्को दुर्घटना हुने हो कि भन्ने आशंका पनि बढेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका संयोजक दाहालले नेपाल ठूलो संकटमा छभन्दै नेता तथा कार्यकर्तालाई गम्भीर भएर परिस्थितिको विश्लेषण गर्न आग्रह गरेका छन् ।

भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन भएको बताउँदै दाहालले संसद् विघटन गर्नै नहुने अवस्थामा गरिएको र नेपालको राजनीतिक भविष्यबारे विदेशी शक्तिहरूले निर्णय गर्न थालेको बताए ।

‘त्यसकारण हामीले भदौ २४ गतेलाई कालो दिन भनेका हौं,’ दाहालले भने, ‘अब नेपाल नेपाली जनताको हातमा फर्काउनुपर्छ । जनताको हातमा रहेको अधिकार पुनर्स्थापित गर्नुपर्छ ।’

अहिले नेपाल नेपालीकै हातमा छभन्ने ठान्नु भ्रम मात्रै रहेको उनले बताए । ‘अहिले नेपाल हाम्रो हातमा छैन, अर्कैको हातमा छ । त्यसैले नेपाल नेपालीको हातमा फर्काउन एउटा ठूलो मोर्चा र आन्दोलन आवश्यक छ,’ दाहालले भने ।

उनले संविधान ट्रयाक बाहिर गएको बताएका छन् । संविधानलाई भेन्टिलेटरमा राखिएको बिरामीसँग उनले तुलना गरेका छन् ।

‘संविधान अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तो भएको छ । भेन्टिलेटर झिकिदिने हो भने संविधान मर्‍यो भन्ने घोषणा हुन्छ,’ उनले भने, ‘अब संविधानलाई कसरी जीवित राख्ने भन्ने ठूलो प्रश्न हाम्रो अगाडि छ ।’

Published : Thursday, 2026 September 10, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया