सम्पत्ति शुद्धीकरणको डीजीलाई कञ्चटमा पेस्तोल राखेर २ घण्टाभित्र रेड नोटिस जारी गर भनिन्छन् : अमरेश सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै आलोचना गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सांसद सिंहले भने, ‘म यहाँ धेरै घटना उल्लेख गर्न चाहन्नँ कि सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कन्चटमा राति १ बजे पेस्तोल भिराइन्छ र भनिन्छ कि यसलाई २ घण्टाभित्र रेड कर्नर नोटिस जारी गर !’
‘म त्यो घटनाको पनि चर्चा गर्न चाहन्नँ कि कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ,’ सांसद सिंहले भने ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले गौरीकुमार यादवलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको बताए । ‘माननीय गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो,’ सांसद सिंहले भने ।
सांसद सिंहले भने, ‘प्रधानमन्त्रीय सिस्टममा प्रधानमन्त्रीको अधिकार हुन्छ– जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्ने, यदि उहाँलाई चित्त बुझेन भने । किनकि सबै अधिकार प्रधानमन्त्रीमा हुन्छ । तर, यहाँ प्रधानमन्त्रीले पठाउँछन्, मन्त्रीलाई अरेस्ट गर्न या सचिवालयले पठाउँछ ।’
‘यो सचिवालय र सचिवालयका केही साथीहरूको कुरा सुन्दाखेरि म आफैँ झसङ्ग हुन्छु कि म कुन देशको सांसद हो ! यो देशको सांसदले त्यस्तो व्यवस्था सहन्छ ? गुण्डा शैलीमा शासन गर्नुपर्छ– यो उहाँहरूको भनाइ (कोट–अनकोट) म भन्दै छु । यो पनि संविधानले परिकल्पना गरेको छैन,’ रास्वपाका सांसद सिंहले भने ।
‘म तपाईंलाई बताउँछु, सुरुमै मैले मन्त्री पद किन अस्वीकार (डिनाइ) गरेँ भने मलाई आभास भइरहेको थियो,’ उनले भने ।
‘म एउटा समुदायको पनि नेता हो, एउटा भूगोलको पनि नेता हो, एउटा पार्टीको पनि नेता हो । म राष्ट्रिय पार्टीको नेता हो,’ सांसद सिंहले भने ।
‘राष्ट्रिय पार्टीको आधिकारिक तरिकाले म भन्न चाहन्छु— हाम्रो पार्टी यो संविधानको रक्षा गर्छ । हाम्रो पार्टी हिमाल, पहाड र तराईलाई समान रूपले हेर्न चाहन्छ, हाम्रो सभापतिको सन्देश पनि त्यही हो । म त्यही बुझेर यो पार्टीमा लागेको हुँ,’ सांसद सिंहले भने ।
‘तर, मधेशीमाथि प्रहार शुरुदेखि नै भइरहेको छ । चाहे दीपक शाहलाई बर्खास्त गरिएको होस्, चाहे गौरीकुमारीको राजीनामा (यसलाई सही रूपमा भन्ने हो भने बर्खास्त गरिएको हो, किनकि रुँदै निस्किएको भिडियो भर्खरै देखिएको छ,’ उनले भने ।
‘आज त्योभन्दा पनि म यहाँ आउँदाखेरि बिहानै मेरो घरमा एउटा दलित नेता भोला पासवान सप्तरीबाट आउनुभएको थियो,’ उनले भने, ‘उहाँले बबिता पासवानको भिडियो देखाउनुभएको थियो– यो राज्य मधेशीप्रति कति प्रताडित छ ! उहाँलाई हस्पिटलमा बस्ने अधिकार पनि दिइएन । म रुँदै आएँ, तर म यहाँ रुन्नँ । म राज्यलाई भन्न चाहन्छु— तपाईं मधेशीको बलमा सरकार ठड्याउनुभएको छ, यो तपाईंको तासको पत्ता हो ।’
‘तपाईंको लागि यही व्यक्तिले भनेको थियो कि यो सरकार बनेन भने आत्मदाह गर्छु । र यही ठाउँबाट भन्न चाहन्छु— यदि तपाईं मधेशीमाथि प्रहार गर्नुहुन्छ भने तपाईंको नाश निश्चित छ,’ सांसद सिंहले भने ।
‘किनकि, मधेशीहरूको एउटा सपना थियो– बर्दिबास मेडिकल कलेज बनाउने । त्यो बर्दिबास मेडिकल कलेज तपाईंले समाप्त गरिदिनुभयो,’ सांसद सिंहले भने ।
‘त्यहाँ ज्वागलमा– मेरो पनि गल्ती होला कि बर्माजीको फेरो समातेर म पुगिनँ होला, म पत्रकार वा सांसदहरू लिएर पुगिनँ होला । म कहिले पनि गुटमा विश्वास गर्दिनँ, म पार्टीमा विश्वास गर्छु,’ उनले भने ।
‘अथोरिटी विदाउट एकाउन्टेबिलिटी साह्रै खतरनाक हुन्छ । मेरो शिर शर्मले निहुरिएको छ— एउटा जासुसी संस्थालाई भेट्न सल्लाहकार लुकेर जान्छन्, राज्यको ढुकुटीबाट मन्त्री स्तरको भत्ता खान्छन् ! म त्यो सल्लाहकार भएको भए टाउको ठाडो गरेर, टाइ–सूट लगाएर त्रिभुवन एअरपोर्टबाट दिल्ली एअरपोर्टमा झर्थेँ, वार्ता गर्थेँ र प्रधानमन्त्रीलाई सुनाउँथेँ । लुकेर के कुरा भयो ?’ सांसद सिंहले भने ।
रास्वपाका सांसद सिंहले भने, कम्तीमा हामी संसद् सदस्यले पनि थाहा पाएको भए अलिकति अनुगृहीत हुन्थ्यौँ । त्यसरी लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन । उहाँ गएकै हो, यदि होइन भने म भन्दिन्छु– दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो ।’
उनले भने, ‘म दिल्लीमै पढेको हुनाले मलाई थाहा छ लीला प्यालेस होटल कहाँ छ । सेकेन्ड फ्लोरको रुम नम्बर त अलि गोप्य नै राखौँ तर, होटलसम्म भनिदिएँ ।’
‘साथसाथै, सल्लाहकारलाई कुनै कार्यकारी अधिकार दिइएको छैन । तर, रातदिन कर्मचारी त्यहाँ जान्छन्, बेइज्जत भएर आउँछन्,’ सांसद सिंहले भने ।
‘प्रहरी प्रमुखहरू, सशस्त्र प्रमुखहरू रोएर आउँछन् । रसुवाको बाढीमा यदि सुरुदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको भए वा सुरुमै विदेशी सहयोग आह्वान गरिएको भए यति क्षति हुने थिएन– मेरो बुझाइ यो छ,’ सांसद सिंहले भने ।
‘दोस्रो कुरा, आज एकातिर किसानलाई मल दिइएको छैन, अर्कोतिर गृहिणीलाई ग्यास दिइएको छैन,’ उनले भने । ‘सबभन्दा दुःखलाग्दो कुरा के हो भने दुईवटा मन्त्रीको बारेमा जान्न चाहन्छु– स्वास्थ्य मन्त्री र शिक्षा मन्त्री,’ उनले भने ।
‘स्वास्थ्य मन्त्रीले कसम खाएका छन् कि कुनै पनि मधेशीलाई त्यहाँ नियुक्ति गर्न दिन्नँ । तपाईंले हेर्नुभयो भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै नियुक्ति एउटै थरका मान्छेको छ । यो कस्तो अनौठो कुरा हो,’ सांसद सिंहले भने ।
‘अर्को, शिक्षा मन्त्री हुनुहुन्छ– उहाँले शिक्षालाई ध्वस्तै पार्नुभयो । हाम्रा विश्वविद्यालयहरू स्वायत्त छन्, शिक्षा मन्त्रालयको शाखा कार्यालय होइनन् कि भीसी, रेक्टर, रजिस्ट्रारलाई बोलाएर लाइन लगाएर फोटो खिचाउने,’ उनले भने ।
‘यो पहिलोपटक त्यहाँ भइरहेको छ र त्यहाँ समावेशिताको धज्जी उडाइएको छ । यत्रो रेक्टर र रजिस्ट्रार नियुक्ति हुँदा एउटा पनि मधेशी भएनन्, के मधेशी योग्य छैनन् ? के मधेशी यो देशको नागरिक होइनन् ? यो देशका दलित, जनजाति, महिला सबैको समान अधिकार हो; दलितको नीति खोइ ?’ सांसद सिंहले भने ।
‘त्यति मात्र होइन, अंग्रेजीमा एउटा भनाइ छ– म सरकारको सचिवालय र सरकारलाई देवानन्दको ‘गाइड’ फिल्म हेर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
‘यो भारतीय सिनेमालाई एकचोटि गुगलमा डाउनलोड गरेर हेर्नुहोस्, देवानन्दको ‘गाइड’ फिल्मजस्तै यो सरकार चलिरहेको छ,’ सांसद सिंहले भने ।
‘दोस्रो, उर्दूमा एउटा शेर छ, बर्बाद गुलिस्ताँ करने को बस एक ही उल्लू काफी था, अन्जाम–ए–गुलिस्ताँ क्या होगा जहाँ हर डाल पे उल्लू बैठा है,’ उनले भने ।
उनले भने, ‘एउटा सल्लाहकार यो सरकारलाई नाश गर्न काफी छ, बाँकी सचिवालयको त कुरै नगरौँ । तेस्रो, न्यायालय अस्तव्यस्त छ, कर्मचारी अस्तव्यस्त छन् । र, चौथो अंग– सञ्चारकर्मीलाई धम्क्याइन्छ । यदि पत्रकारले गलत गरेको छभने उसलाई कारबाही गर्नुहोस् । तर, तपाईंलाई धम्क्याउने अधिकार कसैले दिएको छैन, धम्कीको शासन चल्दैन ।’
‘साथसाथै, यो संविधान र यसको समावेशितामाथि बारम्बार प्रहार भइरहेको छ । कप्तानगञ्जको घटनामा मधेशमा गोली चल्दाखेरि पनि मैले भनेको थिएँ,’ सांसद सिंहले भने ।
‘अहिले पनि भन्छु– यो सचिवालयको सरकार नभएर सल्लाहकारको सरकार बनेको छ, जबकि यो प्रधानमन्त्रीीय शासन हो र संसद्प्रति उत्तरदायी हुनुपर्छ,’ सांसद सिंहले भने ।
‘संसद्ले सरकार बनाउने हो, सरकारले संसद् बनाउने होइन । हामी संसद्मा वाचडगको रूपमा काम गर्छौँ, हामी जनताका प्रतिनिधि हौँ । जनउत्तरदायी यो संसद् हुनै पर्छ, हामी कसैको रबर स्ट्याम्प होइनौँ,’ रास्वपाका सांसद सिंहले भने ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया