यदि यो देशमा न्याय, कानून छभने हामीले कांग्रेसको आधिकारिकता पाउँछौं : नेता डा.महत

भक्तपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले यो देशमा न्याय, कानून र संविधान छभने पार्टीको आधिकारिकता शेरबहादुर देउवा पक्षले पाउने बताएका छन् ।

बुधबार राधेराधेमा नेपाली कांग्रेस भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसको निस्सा पाइसकेको र अबको केही दिनमा सुनुवाई हुने भन्दै सर्वोच्च अदालतबाट न्यायको पाउने विश्वास लिएको बताए । उनले भने, ‘चुनाव चिन्ह रुख र चारे झण्डासहित बिचारको आत्मालाई शरीरभित्र राख्ने कोशिस गरिरहेका छौँ । चुनौतिपूर्ण छ । तर, गर्न सकिन्छ । त्यो उर्जालाई बचाऔँ ।’

‘त्यो भयो भने नेपाली कांग्रेस बच्छ । कांग्रेस बच्यो भने यो देशलाई कमजोर गर्ने शृङ्खलामा पोहर साल आजैको दिन जुन घटना विध्वंश यो देशमा ताण्डब मच्चियो २३ गतेको घटना भयो । २४ गते निजी क्षेत्र छाडेन, सरकारी संरचना छोडेन, पार्टीहरूको संरचना छोडेन, पार्टीका नेताहरूलाई छोडेन,’ नेता डा.महतले भने ।

‘हाम्रो आदरणीय नेता शेरबहादुर देउवा र उहाँकी धर्मपत्नीलाई के भयो हाम्रो आँखामा अहिले पनि झलझली आउँछ । बंगलादेशमा पनि प्रधानमन्त्री निवासमा भिड गयो । तोडफोड ग¥यो आगजनी गरेन । नेपालमा भएको सानोतिनो घटना होइन । नेपालको राष्ट्रियताको जडलाई कमजोर गराउने कोशिस भएको छ,’ उनले भने ।

नेता डा.महतले भने, ‘त्यही शृङ्खलामा नेपाली कांग्रेसमा विशेष अधिवेशनको नाउमा आवश्यक नै नभएको चिज भयो । जसले गर्दा अहिले हामी दुईतिर अधिवेशन गर्ने अवस्थामा पुगेका छौँ । त्यो बेला निर्वाचन अगाडि नेतृत्व परिवर्तन भयो भने मात्रै परिणाम आउँछ, जनताले हामीलाई पत्याउँछन्, पुरानो अनुहारलाई पत्याउँदैन तर, खोइत परिणाम आयो ? आएन । त्यसको सान्दर्भिकता त्यसका कारणले पनि समाप्त भइसक्यो । सबै मिलेर १५औँ महाधिवेशन गरौँ भन्दा टेरपुच्छर लगाएको अवस्था भएन ।’

उनले भने, ‘हामी अदालतमा कानूनी बाटोमा अख्तियार गरेर गएका छौँ । त्यसका निस्सा पनि आएको छ । चाँडो सुनुवाई पनि होला । यदि यो देशमा न्याय छभने, यो देशमा कानून छभने हामीले १४औँ अधिवेशनबाट निर्वाचित नेतृत्वले १५औँ अधिवेशन गर्न पाउनुपर्छ । हामीलाई विश्वास छ । त्यसमा सबै अट्छन् । हामी उदार हो । आफ्नो स्वार्थका लागि पार्टीमा निषेध, विध्वंश गराउन चाहँदैनौँ ।’

‘नेतृत्व पाइन्छ भने, सत्तामा जान पाइन्छ भने राष्ट्रियता कमजोर भए होस्, लोकतन्त्र कमजोर भए होस्, त्यो गर्न तयार प्रवृत्ति बढ्दो छ । हाम्रो बिचारमा खतारामा छ । हाम्रो देश संकटमा छ । लोकतन्त्र संकटमा छ । प्रजातान्त्रिक समाजवादी संकटमा छ,’ कांग्रेस नेता डा.महतले भने ।

डा.महतले भने, ‘वीपी बिचार भनेको यो देशको सार्वभौमसत्ता, यो देशको जब सवाल आउँछ त्यहाँ सम्झौता हुन सक्दैन, त्यो वीपी बिचार हो । जब जनअधिकारको कुरा आउँछ, लोकतन्त्रको कुरा आउँछ त्यहाँ सम्झौता हुन सक्दैन । त्यो वीपी बिचार हो ।’

Published : Wednesday, 2026 September 9, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया