वीपी कोइराला भनेको विचार हो, वीपी र कृष्णप्रसादले कलकत्तामा माला बेच्नु हुन्थ्यो : प्रा.डा.कोइराला

भक्तपुर । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक समेत रहेका प्रा.डा.शशांक कोइरालाले आफ्ना पिताजी वीपी कोइराला र वीपीका पिता कृष्णप्रसाद कोइरालाले कलकत्तामा माला बेच्ने काम गर्ने गरेको संघर्षको कुरा सुनाएका छन् ।

बुधबार राधेराधेमा नेपाली कांग्रेस भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा.कोइरालाले वीपीले धेरै नै संघर्ष गरेको बताए । उनले वीपी कोइराला भनेको एउटा बिचार भएको बताएका छन् ।

उनले भने, ‘वीपी कोइराला भनेको एउटा विचार हो । वीपी विचार कहाँबाट आयो ? संघर्षबाट आयो । उहाँ जब सानो उमेरको हुनुहुन्थ्यो । वीपी विचार कहाँबाट आयो एउटा उहाँको पिताजी कृष्णप्रसाद कोइराला । दुई जना कलकत्ताको बजारमा माला बेच्नु हुन्थ्यो । जीवनभरि उहाँले यती धेरै संघर्ष गर्नुभयो ।’

‘मलाई सम्झना छ । म सेन्टजेभियर्समा पढ्दाखेरी आफ्नो बुवाको बारेमा त्यति थाहा थिएन । मेरो साथीहरूले सोधे तिम्रो बुवा कहाँ ? छभन्दा जेल भन्दाखेरी मेरो साथीहरूले गिज्याए । ए जेलमा, ठग रहेछ भनेर । मलाई नराम्रो लागेर रुन थाले,’ प्रा.डा.कोइरालाले भने ।

‘त्यहाँको प्रिन्सिपलले आफ्नो काखमा बसालेर मलाई के भन्न थाल्नुभयो शशांक तिमीलाई थाहा छ ? तिम्रो बुवा ठूलो मान्छे हो । प्रिन्सिपलले भनेपछि त सुन्नु पनि पर्‍यो । अनि उहाँले सम्झाउनु भयो । वहाँ किन जेल जानु भएको ? स्वतन्त्रताको लागि नेपाली जनतालाई स्वतन्त्र पार्नको लागि वहाँ जेल जानु भएको हो । कुनै नराम्रो कामको लागि होइन,’ प्रा.डा.कोइरालाले भने ।

‘त्यसपछि मलाई लाग्यो मेरो बुवा त ठूले मान्छे रहेछन् भनेर । त्यस्ता धेरै घटनाहरू छन्,’ संयोजक प्रा.डा.कोइरालाले भने ।

उनले भने, ‘सुन्दरी जेलमा महिनाको पहिलो दिन भेट्थ्यौँ । वीपी कोइराला कस्तो हुनुहुन्थ्यो भने, सोध्नु हुन्थ्यो । तिमी के पढ्न चाहन्छौँ ? हाम्रो दिमाग वहाँ बुझ्न चाहनु हुन्थ्यो । मलाई भन्नुभयो तपाई ट्वीस्ट गर्न आउँछ ? त्यो बेला ट्वीस्ट भन्ने एउटा डान्स थियो । मलाई ट्वीस्ट गरेर देखा भन्दा मैले ट्वीस्ट गरेर पनि देखाएँ वहाँलाई । हाँस्नु पनि भयो ।’

‘सारनाथमा बस्दा खेरी वहाँले के भन्नु हुन्थ्यो भने मसँग वार्ता गर्ने मान्छे नै भएनन् । कित म कलकत्ता जानु पर्‍यो सुवर्णजी कहाँ । नत्र भने म दलाई लामा कहाँ जानु पर्‍यो,’ प्रा.डा.कोइरालाले भने ।

‘अब गिरिजा त राजनीतिक बाहेक उसलाई केही आउँदै आउँदैन । साहित्यको बारेमा । अथवा धार्मिक बारेमा । त्यसैले मलाई साथी भएन । सुशीला त झन् मेरो श्रीमती । उसलाई त झन् आउँदैन,’ प्रा.डा.कोइरालाले भने, ‘अनि वहाँ जानु हुन्थ्यो कलकत्ता भेट्नलाई । फर्किएर आइसकेपछि भन्नु हुन्थ्यो गजब राम्रो कुराहरू गर्नुभयो सुवर्णजीले ।’

प्रा.डा.कोइरालाले भने, ‘अर्को व्यक्ति वहाँबाट प्रभावित भएको हो जयप्रकाश नारायण । जयप्रकाश नारायण भारतको ठूलो नेता । आमा र बाबा हनिमुन मनाएर फस्टक्लास क्पार्टमेन्टमा जोगवनीमा ट्राभल गर्दै हुनुहुन्थ्यो । आइरहनु भएको थियो । सानो ठिटो झुण्डीरहेको थियो फस्टक्लास कम्पार्टमेन्ट बन्द थियो । भित्र आउन दिँदैन थियो ।’

‘आमाले भन्नुभयो त्यो केटोलाई भित्र ल्याउ भन्दा बाबाले के भन्नुभयो भने तिमीसँग महँगो गहनाहरू छन् । तिमीले विवाहमा पाएको गहनाहरू । चोरी दियो भने । आमा चुप लाग्नुभयो । एकछिन पछि पानी पर्‍यो । अनि आमाले भन्नुभयो ल्याइदेउ वीपी भनेर त्यो केटो भित्र आयो । वीपीले सोध्नुभयो बाबु तिमी के गर्छौं भन्दाखेरी म यसै घुमी रहन्छु, कटियारबाट जोगबनी, जोगबनीबाट पूर्णिया, तिमी पढ भन्दा पैसा छैन भने, आउँछौँ मसँग भन्दा वीपीले उसलाई ल्याउनुभयो विराटनगर, आदर्श विद्यालयमा पढाउनुभयो,’ प्रा.डा.कोइरालाले भने ।

‘प्रणेश्वरनाथ रेणु, नाम सुन्नु भएको छ कि छैन ? एकदमै प्रशिद्ध साहित्यकार हिन्दीमा । मलाई वीपीले भन्नु हुन्थ्यो । पिताजी हुनुहुन्थ्यो, प्रणेश्वरनाथजी र वीपीको भाइ तानी बुवा चुरोट खाने वहाँहरू रुखमा बसेर । पिताजी के भन्नु हुन्थ्यो भने यो दुइटा छोराहरू मेरा बेकम्मा छन् । खाली चुरोट मात्रै खान्छन् भनेर । दुइटैले साहित्यमा ठूलो नाम कमाएका छन्,’ प्रा.डा. कोइरालाले भने ।

Published : Wednesday, 2026 September 9, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया