कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल ‘रामकृष्ण’
नेता, नेपाली कांग्रेस
विषय : पार्टी एकता, १५औँ महाधिवेशन र नेपाली कांग्रेसको अस्तित्व रक्षा सम्बन्धमा ।
जय नेपाल,
नेपाली कांग्रेस इतिहासको अत्यन्तै संवेदनशील र दोबाटोको मोडमा उभिएको छ । जब पार्टीभित्र विशेष महाधिवेशनका चर्चाहरू शुरू भएका थिए, त्यतिबेलैदेखि मेरो प्रस्ट धारणा थियो— सकिन्छ समयमै नियमित महाधिवेशन गरौँ, सकिँदैन भने सबैको सहमतिमा विशेष महाधिवेशन गरौँ । तर, चुनावको मुखैमा कसैलाई पाखा लगाउने गरी जबरजस्ती महाधिवेशन गरिनु हुँदैन । सहमतिबिना अगाडि बढ्दा पार्टीभित्र गम्भीर फाटो आउनेछ, आन्तरिक द्वन्द्व बढाउनेछ, पार्टी फुटको डिलमा पुग्नेछ र चुनावको परिणाम घातक हुनेछ भनेको थिएँ ।
आज परिणाम हामी सबैका सामु छ, केन्द्रदेखि स्थानीय तहसम्म नेपाली कांग्रेस अत्यधिक खुम्चिएको छ । हिजो हामी चारै तहका सरकारमा सबैभन्दा ठूलो दल थियौँ । तर, आज प्रतिनिधिसभामा हामी धेरै सानो संख्यामा सीमित भएका छौँ । प्रदेश सरकारहरूबाट हाम्रा मुख्यमन्त्री र मन्त्रीहरू बाहिरिनुपरेको छ । अब स्थानीय चुनाव आउँदैछ । आजको यो विभाजित अवस्थामा हाम्रा आम कार्यकर्तालाई सोध्नुहोस्— पर्वत जिल्लाको कुन वडामा कुन सदस्यले जित्छ भनेर ठोकुवा गर्ने अवस्था छ ? भोलि स्थानीय र प्रदेश चुनावमा हाम्रो हालत कस्तो होला ? प्रदेश सभाका सभासद् र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले भोट हालेर जिताउने राष्ट्रिय सभामा भोलि कस्तो परिणाम आउला ?
के नेपाली कांग्रेसका सभापति र पदाधिकारीहरूको काम आफ्नो अनुकूलको पार्टी संरचना बनाउने मात्रै हो ? कि संसदीय चुनावहरू जितेर प्रधानमन्त्री, मुख्यमन्त्री र स्थानीय निकायका प्रमुख भई राम्रो व्यवस्था र सुशासनमार्फत देशका नागरिकका समस्या समाधान गर्ने हो ? युवाहरूलाई स्वदेशमै रोजगार दिने वातावरण बनाएर देश चिनाउने सरकार बनाउने कि आन्तरिक गुटबन्दीमा अल्झिने ? यो प्रश्नमा आज सम्पूर्ण नेतृत्वले गम्भीर हुनैपर्छ ।
१. नेतृत्व हस्तान्तरण
अग्रजको सम्मान र युवा पुस्ताको दायित्व अब हामीले आन्तरिक प्रतिस्पर्धालाई केवल पूर्वसभापति वा पूर्वप्रधानमन्त्रीहरूलाई गाली गरेर पन्छिने माध्यम बनाउनु हुँदैन । आदरणीय नेता शेरबहादुर देउवाज्यू लगायत अग्रज नेताहरूले लामो समय देश र पार्टीका लागि योगदान गर्नुभयो । उहाँहरू नेपालको संविधानले दिए अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री हुनुभयो । उहाँहरू पनि आज निष्पक्ष र स्वच्छ तरिकाले महाधिवेशन गराएर, पार्टीलाई एकताबद्ध बनाएर सम्मानित रूपमा विदा हुन चाहनुभएको छ । उहाँहरूलाई त्यो सम्मानित विदाइको अवसर किन नदिने ?
आज देश र पार्टीलाई अगाडि बढाउने जिम्मेवारी आदरणीय नेता गगनकुमार थापा जस्ता युवा नेताहरूको काँधमा छ । अग्रजहरूलाई इतिहास र खम्बाका रूपमा सम्मान गर्दै युवा पुस्ताले उहाँहरूको अनुभवलाई साथमा लिएर अघि बढ्नुपर्छ । पार्टीको विधि र विधानअनुसार नेपाली कांग्रेसको महाधिवेशनमा जो–कोही पनि प्रतिस्पर्धामा आउन पाउँछ । कसलाई सभापति बनाउने, कसलाई पदाधिकारी बनाउने र कसलाई हराउने भन्ने अधिकार पर्वत जिल्लालगायत देशभरका महाधिवेशन प्रतिनिधि र आम कार्यकर्ताको हातमा छ । कार्यकर्तालाई आफ्नो विवेक प्रयोग गर्न दिने लोकतान्त्रिक अधिकारबाट किन वञ्चित गर्न खोजिँदैछ ?
यदि नियत सफा छभने, विवाद मिलाउन ठूलो कुरा छैन । गगन थापाज्यूले चाहनुभयो भने यो विवाद १० मिनेटमा समाधान हुन सक्छ ।
२. जनता विपद्मा, पार्टी गुटबन्दीमा ?
वर्तमान समयमा देश बाढी, पहिरो र प्राकृतिक विपद्को गम्भीर चपेटामा छ । कैयौँ नागरिक ज्यान गुमाएका छन् उनीहरूप्रति भावुक श्रद्धाञ्जलि अर्पण गर्दछु । बिचल्लीमा परेका छन् । यस्तो संकटको बेला म स्वयं पनि आफ्नो ठाउँ (पर्वत)बाट पीडित दाजुभाइ–दिदीबहिनीहरूका लागि मैले आफूले सकेको राहत र आर्थिक सहयोग नेपाल सरकारले जारी गरेको विपत् कोषमा जम्मा हुने गरी सहयोग गरेको छु ।
जनता र कार्यकर्ता विपद्को पीडामा छटपटाइरहेका बेला पार्टी नेतृत्व भने विभाजनको बाटोमा लाग्नु विडम्बना हो । संकटको यो घडीमा जनताको आँसु पुछ्दै नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने ऐतिहासिक अवसर पनि नेतृत्वकै हातमा छ ।
३. नेपाली कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयमा सम्मानित अदालतले हेर्दै छ त्यो छिटोभन्दा छिटो फैसला गर्नेछ गर्नुपर्छ ।
आधा पक्षलाई पाखा लगाएर एकलौटी ढङ्गले जबरजस्ती महाधिवेशन अगाडि बढाउनु ठूलो दुर्घटनाको निम्तो दिनु हो । नेपाली कांग्रेसको विधि विधानअनुसार केही महिना महाधिवेशन पर सार्दैमा केही बिग्रँदैन तर, सबैलाई समेटेर जाँदा पार्टीको अस्तित्व जोगिन्छ ।
अहिले चारतारा झण्डा र रुख चिन्ह कसको हुने भन्ने विषय सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले विषयको गहिराइमा गएर त्रुटिहरूको पूर्ण अवलोकन गर्ने आदेश दिइसकेको छ । अन्तिम फैसला आउन बाँकी छ । यस्तो संवेदनशील अवस्थामा यदि ५४ प्रतिशत मात्रै समेटिएर जबरजस्ती अगाडि बढियो भने, बाँकी ४६ प्रतिशत छुट्टै अधिवेशन गर्न बाध्य हुनेछन् ।
भोलि अदालतले जसलाई आधिकारिकता दिन्छ, सबै त्यही मूल धारमा समाहित हुनुपर्ने बाध्यकारी अवस्था आउनेछ ।
यसले वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहसम्मका कार्यकर्तामा अन्योल र गम्भीर विभाजन ल्याउनेछ । पर्वत जिल्लाबाट हामीले हाम्रा सम्पूर्ण क्रियाशील सदस्यहरूको नवीकरण शुल्कसहित केन्द्रमा पठाइसकेका छौँ । ती कुनै पनि निष्ठावान् कार्यकर्ताको अधिकार खोस्ने हक कसैलाई छैन ।
४. निकासका लागि ३ बुँदे स्पष्ट मागहरू
अझै पनि समय छ । कसैप्रति कुनै पूर्वाग्रह वा गालीगलौज नगरी, केवल पार्टी जोगाउने उद्देश्यका साथ निम्न ३ बुँदाहरूलाई तत्काल आत्मसात् गरियोस्
- सबैलाई समेटिने ग्यारेन्टी नवीकरण भई आएका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई बिनाभेदभाव र रोकटोक १५औँ महाधिवेशनमा भाग लिन दिइयोस् । कसैलाई पनि पाखा नलगाइयोस् ।
- समितिहरूको निष्पक्षता, क्रियाशील छानबिन समिति, अनुशासन समिति र निर्वाचन समिति लगायतका बनाइने समितिमा निष्पक्षता कायम गर्दै सबै पक्षले न्याय पाउने वातावरण बनाइयोस् ।
- सहमति र एकताको यात्राः रेल वा बस छुट्यो भन्ने घमण्ड त्यागेर पार्टीको विधान अनुसार कति छ समय थपेर केही महिना पर सारेर भएपनि शतप्रतिशत कांग्रेसलाई एकै ठाउँमा गोलबन्द गरियोस् ।
५. आम कार्यकर्ताको खबरदारी
नेपाली कांग्रेस कसैको व्यक्तिगत प्राइभेट कम्पनी होइन । यो वीपी कोइराला कृष्णप्रसाद भट्टराई गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतका अग्रज स्वाभिमान निष्ठावान नेताहरूले स्थापना गरेर यहाँसम्म ल्याएको पार्टी हो यो पार्टीमा त्यस्ता कार्यकर्ता हजारौं छन् त्यस्ता निष्ठावान कार्यकर्ताको मन दुखाउने काम नगर्नु होला । जय नेपाल ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया