ग्लोबल वार्मिङले नेपालले ठूलो क्षति व्यहोर्नु पर्‍यो, ज्यान गुमाएका साथीहरूका आफन्तप्रति समवेदना : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

बुधबार राधेराधेमा नेपाली कांग्रेस, भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ग्लाबल वार्मिङका कारण हिमाल र डाँडाकाँडाबाट हिउँ पग्लिएको बताएका छन् । उनले ग्लोबल वार्मिङले गर्दा ठाउँठाउँमा दुर्घटना भएको भन्दै त्यसको अवसर नेपालमा पनि देखिएको बताए ।

उनले भने, ‘साथीहरू यहि बेलामा भोटेकोशी जो बाढी आयो त्रिशूलीदेखि धेरै मानिसहरूको ज्यान गयो । बगाएर लग्यो ।’

‘चितवनदेखि तलसम्म पनि मान्छेहरूको ज्यान गयो । मान्छेको शव भारतसम्म पनि पुगेको छ । नारायणी नदी, त्यसलाई तल गण्डक भन्छन् त्यहाँ बगेर गयो । त्यसमा धेरै साथीहरूको ज्यान गएको छ,’ देउवाले भने, ‘त्यसका प्रति म हार्दिक समवेदना प्रकट गर्दै वहाँका परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु ।’

‘साथसाथै क्लाइमेट चेन्ज अहिले संसारभरि, यसलाई ग्लोबल वार्मिङ भन्छ । तापक्रम बढेको छ अहिले समुद्रको सतह बढेको छ,’ उनले भने ।

‘ग्लोबल वार्मिङले गर्दाखेरी धेरै ठूलो दुर्घटना ठाउँठाउँमा भएको छ । नेपालमा पनि देखियो दुर्घटना । यो ग्लोबल वार्मिङको लागि संसारभरि नै क्याम्पियन गरेर, म आफै पनि लाग्नेछु, लागेर ग्लोबल वार्मिङको बचाउमा हामी जानुपर्छ भन्ने विश्वास गराउँछु ।’

‘हाम्रो देशका हिमालहरू हिउँले भरिएका थिए । डाँडाहरू सबै नाङ्गो भइसके । अहिले हिउँ नै छैन । हिउँ पग्ली सकेको छ,’ देउवाले भने ।

उनले भने, ‘ग्लोबल वार्मिङबाट नेपाललाई बचाउनुछ । नेपाल मात्रै होइन, संसार नै क्लाइमेट चेन्जको खतरामा छ ।’

Published : Wednesday, 2026 September 9, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया