विशेष महाधिवेशनले कांग्रेसको समस्यालाई जटिल र विभाजनको खतरा बनायो : एनपी साउद

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीभित्रको विवाद समाधानका लागि आफूले विभिन्न नेताहरूसँग पटक पटक छलफल गर्दै आएको बताएका छन् ।

आइतबार कञ्चनपुरमा दोधारा–चाँदनी क्षेत्रका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रियामा नेता साउदले सभापति शेरबहादुर देउवा, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूसँग पार्टीको विवाद समाधान र एकताका विषयमा पटक पटक छलफल भएको बताए ।

साउदले विशेष महाधिवेशनका कारण पार्टीभित्रको समस्या समाधान हुनुको सट्टा थप जटिलता र विभाजनको खतरा पैदा भएको बताएका छन् ।

पार्टीलाई विभाजनबाट जोगाउँदै संस्थागत रूपमा अघि बढाउन संवाद र सहमतिबाट निकास खोज्नुपर्ने उनले बताएका छन् ।

सभापति शेरबहादुर देउवाको लामो राजनीतिक योगदानको नेता साउदले स्मरण गरेका छन् । देउवाले कलिलो उमेरदेखि नै लोकतन्त्रका लागि संघर्ष गरेको उल्लेख गर्दै साउदले विगतमा उनकै हस्ताक्षरबाट पार्टीले चुनाव जितेको राजनीतिक इतिहासलाई समेत स्मरण गराएका छन् ।

लामो राजनीतिक संघर्षबाट स्थापित नेतृत्वको योगदानलाई बेवास्ता गर्न नहुने उनले बताएका छन् ।

Published : Sunday, 2026 September 6, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया