देउवाबिना कांग्रेसमा बृहत एकता हुन नसक्ने सुझाव, ३ पक्षको बैठक, खड्का-डा.कोइरालासँग गगनले भेट्ने
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले शेरबहादुर देउवाबिनाको एकताको कुनै अर्थ नरहने भन्दै सबैलाई मिलाएर लैजाँदा नै पार्टीमा बृहत एकता हुने निस्कर्ष निकालेका छन् ।
शनिबार नेता डा.शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको नेताहरूको बैठकले शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा.शेखर कोइराला लगायत सबै पक्षलाई मिलाएरै जानुपर्ने निष्कर्ष निकालेको हो । डा.कोइरालाद्वारा राखिएको बैठकमा देउवा–खड्का पक्षका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
धारणा राख्ने नेताहरूले पार्टीमा बृहत एकताका लागि सबै तयार रहेको भन्दै बृहत एकता चाहने हो भने शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र डा.शेखर कोइराला लगायतका नेताहरूलाई मिलाउनै पर्ने सुझाव दिएका हुन् । बैठकमा सहभागी एक नेताले भने, ‘गगन थापालाई मान्दैनौँ भनेका छैनौँ । मुलुकको राष्ट्रियता कमजोर बनेको छ । संविधान खतरामा परेको छ । कांग्रेसको नेतृत्वमा ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनुपर्नेछ । देशमा विभिन्न खालका संकटहरू उत्पन्न भइरहेका छन् । व्यवस्था नै खतरामा परेको छ । हामी सबै मिलेर जानुपर्छ ।’
बैठकमा धारणा राख्ने नेताहरूले तथाकथित विशेष महाधिवेशनबाट आएकाहरूले नेताहरूलाई व्यक्तिगत प्रलोभनमा पारेर पद बाँडेको भन्दै त्यस्ता प्रलोभनमा पर्न नहुने सुझाव दिएका छन् । उनीहरूले आफूहरू कांग्रेस बिभाजनभन्दा पनि पार्टीभित्र बृहत एकता चाहेको बताएका छन् ।
डा.शेखर कोइरालाद्वारा राखिएको बैठकमा करीव ३० जना नेताहरूको सहभागिता रहेको थियो । नेताहरू धनराज गुरुङ, बलबहादुर के.सी., सुरेन्द्र पाण्डे (गण्डकीका मुख्यमन्त्री), महालक्ष्मी उपाध्याय ‘डीना’, डा.मीनेन्द्र रिजाल, अम्बिका बस्नेत, सीता गुरुङ, सरिता प्रसाईं, रामहरि खतिवडा, किरण यादव, गोविन्द भट्टराई, नैनसिंह महर, सीता देबकोटा, ईश्वरी न्यौपाने, सीता थापा, सुजाता परियार, शान्ति परियार, किरण पौडेल, डा.चन्द्रमोहन यादव लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, गगन थापाले भोलि आइतबार नेताद्वय पूर्णबहादुर खड्का र डा.शेखर कोइरालालाई अलग अलग भेट्न लागेको बैठकमा जानकारी दिइएको थियो । सो भेटमा कांग्रेसभित्रको बृहत एकता र शेरबहादुर देउवासहित सबै नेताहरूलाई समेट्ने गरेर सम्वाद गर्न सुझाव दिइएको एक नेताले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया