अख्तियारद्वारा राप्तीका अध्यक्षसहित ९ जनाविरुद्ध लाखौँको भ्रष्टाचार मुद्दा दायर, विष्टसहितका कर्मचारी निलम्बन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल, राप्ती गाउँपालिकाका बहालवाला अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट तत्कालीन नेकपा (माओवादी)बाट निर्वाचित भएका हुन् । उनी हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङ–लमही सडक खण्डमा सडक क्षेत्राधिकारभित्र रहेका रूख अनधिकृत रूपमा कटान गरी सरकारी सम्पत्तिमा हानि नोक्सानी पुर्याएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध आरोप पत्र दायर गरेको जनाएको छ ।
दाङको राप्ती गाउँपालिका वडा नं. १ पाखापानीदेखि लमही नगरपालिका वडा नं. ४ अर्नहवासम्म राजमार्गको दायाँबायाँ क्षेत्रमा सिमल, सिसौलगायत विभिन्न जातका २ हजार ७२४ वटा रूख काटिएको अनुसन्धानबाट खुलेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
कटान गरिएका रूखबाट ४० हजार ५५५ घनफिट काठको ८१ लाख ३७ हजार ९०० रुपियाँ बराबरको सरकारी सम्पत्तिमा हानि नोक्सानी भएको अख्तियारले जनाएको छ ।
मुद्दामा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी)का तत्कालीन वन अधिकृत राजु क्षेत्रीलाई मुख्य प्रतिवादी बनाइएको छ । जयसवाल र क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार ९०० रुपियाँ बिगो कायम गरी कैद, बिगो बराबर जरिवाना तथा बिगो असुलउपरको माग दाबी गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपियाँ, वडा नं. १ का वडाध्यक्ष गेमे खड्काविरुद्ध ३ लाख ७१ हजार रुपियाँ र वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीविरुद्ध १ लाख ४१ हजार २२६ रुपियाँ बिगो कायम गरी सजायको माग दाबी लिइएको अख्तियारको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले राप्ती गाउँपालिका–४ का अभिमान चौधरी, नन्दु गिरी, राप्ती गाउँपालिका–२ का झविन्द्रप्रसाद भण्डारी तथा लमही नगरपालिका–२ का केशरबहादुर चौधरीलाई मतियारका रूपमा प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध क्रमशः ७३ हजार ६४६ रुपियाँ, ३० हजार ९७० रुपियाँ, १ लाख ४१ हजार २२६ रुपियाँ र ३६ हजार ६१० रुपियाँ बिगो कायम गरिएको छ ।
पूर्वपश्चिम राजमार्गको क्षेत्रमा रहेका रूख हटाउने विषयमा विभागीय प्रक्रिया अघि बढिरहेको अवस्थामा अनधिकृत रूपमा रूख कटान गरिएको अख्तियारले अनुसन्धानका क्रममा भेटिएको जनाएको छ ।
कटान तथा काठ ओसारपसार रोक्नुपर्ने र कानूनी प्रक्रिया अघि बढाउनुपर्ने सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ का सम्बन्धित व्यवस्थाबमोजिम मुख्य प्रतिवादी तथा मतियारविरुद्ध कैद, जरिवाना र हानि नोक्सानी भएको बिगो असुलउपरको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल, राप्ती गाउँपालिकाका बहालवाला अध्यक्ष प्रकाश विष्टसहित ९ जना तोकिएको समयभित्र विशेष अदालतमा उपस्थित भइ बयान दिएपछि थुनछेक बहस हुनेछ । बहसपछि विशेष अदालतले धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश गर्नेछ । भ्रष्टाचार मुद्दा दायर भएसँगै राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरू स्वतः निलम्बनमा परेका छन् । उनीहरूले फैसलाको टुंगो नलाग्दासम्म कुनै पनि कामकारबाही गर्न पाउने छैनन् ।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८३/०५/१५ गते ।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको ।
पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्डको चे.690+000 पाखापानी देखि चे.712+000 लमही खण्डमा सडक क्षेत्राधिकार भित्रका सिसौ लगायत अन्य जातका काठ/कुकाठ, ठूला, मझौला र सानासमेत गरी करिव १४०० भन्दा बढी संख्यामा रूखहरू कटानी भएको विवरण डिभिजन सडक दाङ्गबाट पेस भएको, वन जंगल तथा बोटबिरूवाको संरक्षण सम्बर्द्धन र उपयोगमा जिल्ला स्थित डिभिजन वन कार्यालयहरूले नियामक र नेतृत्वदायी दुवै भूमिका खेल्नुपर्नेमा सडक विभागको स्वामित्वमा रहेको पूर्व पश्चिम राजमार्गको सडक सीमा २५/२५ मिटर भित्रका यस्ता जोखिमयुक्त रूखहरू हटाउन विभागीय प्रक्रिया चलिरहेको साथै लुम्विनी प्रदेशको स्थायी राजधानी दाङ्ग देउखुरी राप्ती उपत्यकामा सार्न मिति तोकिएको अवस्थामा २०७९ मंसिरको अन्तिम हप्ता र पौषको पहिलो हप्तामा जिल्लास्थित वन पदाधिकारीहरूको संलग्नतामै रूखहरू कटान गरी काठहरू गायब पारी सरकारी सम्पत्तिको हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय दाङ्गका कार्यालय प्रमुख राम पुकार जयसवालसमेतको मिलेमतोमा जिल्ला दाङ्ग, राप्ती गाउँपालिका वडा नं.१ पाखापानी देखि लमही नगरपालिका वडा नं.4 अर्नहवा सम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सडक क्षेत्राधिकार भित्र काटिएका सिमल, सिसौ लगायत विभिन्न जातका रूख थान २७२४ कटान भएको देखिंदा प्रतिवादीहरूको एक आपसको मिलेमतोमा वदनियत गरी सूचना प्रकाशन गर्ने गराउने कार्य गरे गराएको देखिएको, पालिका र उक्त वडा कार्यालयले सूचना बमोजिमको कार्य गर्न संयन्त्र बनाई उक्त कार्य गर्नु गराउनु पर्नेमा बदनियतपूर्वक सरकारी सम्पत्ति संक्षण गर्ने कार्य गरे गराएको नदेखिएको, डिभिजन वन कार्यालय दाङ्ग (देउखुरी) ले आफ्नो क्षेत्राधिकार भित्र राप्ती गाउँपालिका र लमही नगरपालिका अन्तर्गत रहेका रूखहरू अनधिकृत रूपमा कटान हुँदा तत्कालै नियन्त्रणमा लिन सकिनेमा जानी बुझी वदनियतपूर्वक बेमतलव गरेको, सडक डिभिजन दाङ्गले आफ्नो सडक क्षेत्र भित्रका रूख कटान भएको सम्बन्धमा सार्वजनिक सडक ऐन, २०३१ मा भएको ब्यवस्था वमोजिम कुनै छानविन समिति वा अनुसन्धान अधिकृत तोकी अनुसन्धान कार्य अगाडि नबढाई प्रचलित कानुनको कार्यविधि पूरा नगरी विना ईजाजत अवैध रुपमा सडक क्षेत्राधिकार भित्रपर्ने रूखहरूको कटान गरी ओसार पसार गरी विभिन्न जातको 40555.0 घनफिट काठको कुल जम्मा रू.81,37,900/- हानी नोक्सानी समेत गरेको कसुर पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
| क्रस | नामथर पद र कार्यालय | बिगो रू. | कसुर तथा सजायको मागदाबी |
| सडक डिभिजन कार्यालय दाङ्गका कार्यालय प्रमुख राम पुकार जयसवाल | रू.81,37,900/- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो एकासी लाख सैतीस हजार नौ सय रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ। | |
| डिभिजन वन कार्यालय दाङ्ग (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री | रू.81,37,900/- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 बमोजिमको कसुरमा बिगो एकासी लाख सैतीस हजार नौ सय रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९(पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ। | |
| जिल्ला दाङ्ग, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट | रू.58,45,825/- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो अन्नठाउन्न लाख पैतालीस हजार आठसय पच्चीस रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ। | |
| जिल्ला दाङ्ग, राप्ती गाउँपालिकाको वडा नं. १ को वडाध्यक्ष गेमे खड्का | रू.3,71,000/- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो तीन लाख एकहत्तर हजार रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ। | |
| जिल्ला दाङ्ग, राप्ती गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्ष वीर बहादुर चौधरी | रू.1,41,226/– | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो एक लाख एकचालीस हजार दुई सय छब्बीस रूपैयाँ कायम गरी ऐ.ऐनको दफा १७ ले निर्दिष्ट गरे बमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ। | |
| जिल्ला दाङ्ग राप्ती गाउँपालिका वडा नं.४ वस्ने अभिमान चौधरी | रू.73,646/- | मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले मुख्य कसुरदारहरूलाइ बिगो त्रिहत्तर हजार छ सय छयालीस रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) को देहाय (ग) तथा भ्रष्टाचार निवारण ऐन,२०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने समेतको सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। | |
| जिल्ला दाङ्ग राप्ती गाउँपालिका वडा नं.४ वस्ने नन्दु गिरी | रू.30,970/- | मुख्य कसुरदाहरूले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले मुख्य कसुरदारहरूलाई बिगो तीस हजार नौसय सत्तरी रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने समेतको सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। | |
| जिल्ला दाङ्ग राप्ती गाउँपालिका वडा नं. २ वस्ने झविन्द्र प्रसाद भण्डारी | रू.1,41,226/- | मुख्य कसुरदाहरूले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले मुख्य कसुरदारहरूलाई बिगो एक लाख एकचालीस हजार दुई सय छब्बीस रूपैयाँ कायम गरी ऐ.ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने समेतको सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। | |
| जिल्ला दाङ्ग लमही नगरपालिका वडा नं. २ वस्ने केशर बहादुर चौधरी | रू.3६,६१0/- | मुख्य कसुरदाहरूले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले मुख्य कसुरदारहरूलाई बिगो छत्तीस हजार छ सय दश रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने समेतको सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम सजाय हुन मागदाबी लिइएको छ। |
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया