तरुण दलको ५० बोरा चामल र खाद्यान्नसहितका राहत सेनाले पीडितसम्म पुर्‍याइदेओस् : नेता दिल लामा

काठमाडौं । नेपाल तरुण दलका नेता दिल लामाले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई मिडियाबाजी नगरेर हराइरहेका नागरिकहरूको खोजी र उद्धारमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

शनिबार ५० बोरा चामलसहितको खाद्यान्न लिएर गएका तरुण नेता लामाले नुवाकोटको विदुरमा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै राज्यले हराइरहेका नागरिकहरूको छिटोभन्दा छिटो खोजी गरेर परिणाम दिनुपर्ने बताए । मिडियाबाजी गरेर बस्ने होइन भनेर उनले चेतावनी दिएका छन् ।

‘धेरै नागरिकहरू बेपत्ता भएका छन् । बाढीले बगाएका शवलाई खोज्नुपर्छ,’ तरुण नेता लामाले भने, ‘मिडियामा आएअनुसार राज्यले काम गरेको छुभनेको छ । नेपाल तरुण दलले सरकारलाई सहयोग गर्न चाहन्छ ।’

लामाले भने, ‘पहिला बेपत्ताहरूको खोजी गरौँ, उद्धार गरौँ, प्रधानमन्त्री र गृहमन्त्रीले जुनखालको मिडियाबाजी गर्नुभएको छ त्यो नगर्नुस् । मान्छेको उद्धार गर्नुस् । सबैको सहयोग लिनुस् ।’

यसैबीच, तरुण नेता लामाले नुवाकोटका बाढी प्रभावितलाई राहत वितरण गर्नका लागि सुनिल लामासहितका तरुणहरू गएको बताएका छन् । उनले भने, ‘मेरो नुवाकोटका तरुण नेता सुनिल लामाले ५० बोरा चामल, पाँच बोरा दाल, पाँच कार्टुन चाउचाउ बोलेरो गाडीमा व्यवस्था गरेर हामीले मिलेर राहत वितरण गर्ने भनेर गएका थियौँ । त्रिशूली बजार कट्ने वित्तिकै बाटोमै नेपाली सेनाको गाडीले राहतको गाडीलाई भित्र छिराइदियो । म र सुनिल लामा ब्यारेकभित्र छिर्न पाएनौँ ।’

‘त्यो राहत पीडितसम्म पुगोस् । सुनिल लामाज्यूले सहयोग गरेको राहत असली पीडितसम्म पुगोस् भनेर म कामना गर्छु,’ तरुण नेता लामाले भने, ‘हामीले हाम्रो हातबाट पीडितको हातमा राहत दिन नपाए पनि नेपाली सेनाबाट पीडितको हातमा त्यो राहत पु¥याउँछ भन्ने विश्वास नेपाल तरुण दल केन्द्रीय समितिले लिएको छ ।’

Published : Sunday, 2026 August 30, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया