कांग्रेसको १५औं महाधिवेशनका लागि देउवा पक्षद्वारा तयारी समितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तयारी समितिको बैठक बोलाएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गरेर सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले १५औं केन्द्रीय महाधिवेशन तयारीका विषयमा छलफल र निर्णय गर्न तयारी समितिको बैठक बोलाइएको बताएका छन् । बैठक भाद्र १७ गते बुधबार दिनको १ बजे सम्पर्क कार्यालय चुनदेवीमा बस्नेछ ।
‘नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक भाद्र १७ गते बुधबार दिनको १ बजे सम्पर्क कार्यालय चुनदेवीमा बस्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त बैठकमा १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।’
बैठकमा १५औं महाधिवेशन तयारी, समसामयिक विषयलगायतमा छलफल केन्द्रित रहनेछ । तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गतिविधि गर्न थालेपछि शेरबहादुर देउवा पक्षीय नेताहरूले पनि १५औं महाधिवेशनको तयारी शुरु गरेका छन् ।
नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निस्सा पाएको अवस्थामा रहेका बेला तथाकथित विशेष महाधिवेशन पक्षधरले अधिवेशन र महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया