तथाकथित विशेषवालाको स्वघोषित कार्यसमितिले गर्ने महाधिवेशनमा सामेल नहुन आग्रह, देउवा पक्षको अलग कार्यतालिका आउने
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको १५औँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरि पुनः प्रक्रिया प्रारम्भ गरिने बताएका छन् ।
शनिबार संयोजक प्रा.डा.कोइरालाले प्रेस विज्ञप्ति जारी गरेर तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने/गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धि गतिविधिमा सामेल नहुन आग्रह गरेका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका इमान्दार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्यलाई संयोजक प्रा.डा.कोइरालाले आग्रह गरेका छन् ।
उनले भने, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप अन्य तहमा समेत विभाजन पुर्याउने कुनै पनि गतिविधि कुनै पनि पक्षले गर्न गराउँन हुँदैन ।’
‘यस सन्दर्भमा कुनै एकपक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरि अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्धाको किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरि दिएको निवेदनमा सर्वोच्च अदालतबाट रोक्ने आदेश नआएपछि चौधौँ महाधिबेशनवाट निर्वाचित हाम्रो बैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिबेशन गर्नुपर्ने बैधानिक दायित्व भएको बोध गर्दै पन्ध्रौँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरि पुनः प्रक्रिया प्रारम्भ गरिनेछ,’ संयोजक प्रा.डा.कोइरालाले भने ।
‘यसका लागि पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरू गरि सबै तहका अधिवेशन गरिनेछ,’ उनले भने, ‘अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिनेछ ।’
प्रा.डा.कोइरालाले भने, ‘तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धि गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका इमान्दार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनिधि, सर्मथक तथा शुभचिन्तक साथीहरूमा हार्दिक अनुरोध गर्दछु ।’
‘अहिले एकातर्फ हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्धा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छभने अर्कातर्फ हाम्रो पार्टीको विधान बमोजिम पदावधी यही मंसिर मसान्त र नेपालको संविधान अनुसार थप छ महिनामा समाप्त हुँदैछ,’ संयोजक प्रा.डा.कोइरालाले भने ।
‘सँगसँगै स्थानीय तहको निर्वाचन पनि २०८४ बैशाख अर्थात अबको आठ महिनामा र प्रदेश सभाको निर्वाचन अबको करीव एक वर्षमा हुँदैछ,’ प्रा.डा.कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘साथै मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बनिरहेको छ ।’
‘राष्ट्रियता, सार्वभौमिकता र नागरिक स्वतन्त्रता दिनानुदिन संकुचित हुँदै गएको समस्त नेपालीहरूले महसुस गरिरहेका छन्,’ उनले भने, ‘यो विषम अवस्थामा एकतावद्ध भएको सवल सक्षम र सुदृढ कांग्रेस बनाउँनु हामी सबैको कर्तव्य हो ।’
संयोजक प्रा.डा.कोइरालाले भने, ‘नेपाली कांग्रेसको आधिकारिताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधिभित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्याउने र हामीले न्याय पाउँने छौँ भन्ने गहिरो विश्वास पनि रहेको छ ।’
‘आवेग, उत्तेजना, गाली गलौच तथा षडयन्त्रका तानाबानाले होइन, संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ सम्पूर्ण लोकतन्त्रवादी व्यक्ति र समुदायको साथले पुनः सबै तहमा सबल सक्षम र लोकप्रिय पार्टीका रूपमा नेपाली कांग्रेस निर्माण गर्नेछौं भन्ने दृढ विस्वास व्यक्त गर्दछु,’ उनले भने ।
तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निस्सा प्राप्त भइसकेको र आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि शेरबहादुर देउवा पक्षले पनि १५औँ महाधिवेशनको गतिविधि शुरु गर्न लागेको जनाएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया