राष्ट्रिय विपतको बेला बाढीले बगाएको सेफ फोडेर चोरी गर्ने २९ जना धादिङबाट पक्राउ

काठमाडौं । रसुवाको भोटेकोशी नदीको बाढीमा बगेर आएको सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपियाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार दिएको जानकारी अनुसार, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पैसा राख्ने सेफ बगाएर ल्याएको थियो । सेफ धादिङको गल्छी गाउँपालिका वडा नं. ४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा फेला परेको थियो ।

स्थानीय मानिसहरूले सेफलाई तोडफोड गरी नगद पैसा निकालेर चोरी गरेका थिए । घटनाको बारे शुक्रबार खबर प्राप्त भएसँगै खबर प्राप्त भएसँगै तत्काल परिचालन भई छानबिन गर्दा प्रारम्भिक अनुसन्धानका क्रममा २९ जना मानिसहरूलाई नियन्त्रणमा लिई खानतलासी गरिएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ पर्नेहरूमा अधिकांश धादिङको गल्छी गाउँपालिका वडा नं. ४ र ६ का बासिन्दा रहेका छन् । सिद्धलेक गाउँपालिका तथा चितवन र पर्सा जिल्ला घर भई हाल गल्छीको आदमघाटमा बस्दै आएका व्यक्तिहरू पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरू र बरामद नगदको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

Published : Saturday, 2026 August 29, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया