ठूलो मानवीय क्षति भए पनि उद्धार तथा राहतका लागि राज्यको उपस्थिति प्रभावकारी भएन : अध्यक्ष अर्याल
काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित क्षेत्रमा ठूलो मानवीय क्षति भए पनि उद्धार तथा राहतका लागि राज्यको उपस्थिति प्रभावकारी रूपमा अनुभूति हुन नसकेको आरोप लगाएका छन् ।
बाढीले सर्वनाश गरेको क्षेत्रमै आफू रहेको बताउँदै अर्यालले सामाजिक सञ्जालमार्फत स्थानीयको अवस्था अत्यन्त भयावह रहेको उल्लेख गर्दै संघीय सरकारको उद्धार तथा राहत संयन्त्रप्रति प्रश्न उठाएका हुन् ।
उनका अनुसार बाढीको सूचना जारी गर्न खटिएका कर्मचारीमध्ये चार जना अझै बेपत्ता छन् । सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको भने पहिचान भएपछि दाहसंस्कार गरिएको उनले बताएका छन् । कार्यपालिका सदस्य ज्ञानु बि.क. तथा केही शिक्षकसमेत सम्पर्कविहीन रहेको अर्यालले बताए ।
वेत्रावती बजार, कैदलेटार, पैरेबेँसी, सल्लेटार र मैलुङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको उनले बताएका छन् । २०७२ सालको भूकम्पपछि विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० परिवारसमेत प्रभावित भएको उनले बताए ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनाका ठूलो संख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय र नेपाली कामदारसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेको अर्यालले बताएका छन् । केही मानिस सुरुङभित्र फसेको खबरसमेत आइरहेको उनले उल्लेख गरेका छन् ।
गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्किएका यात्रुहरू पनि हराइरहेको भन्दै आफन्तहरूले खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेको उनले बताएका छन् ।
अर्यालले बाढीपछि प्रभावित क्षेत्र सडक सम्पर्कबाट पूर्णरूपमा विच्छेद भएको बताए । विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल नेटवर्कमा समेत समस्या आएको र मोबाइल फोन अफ भएकाले प्रभावितसँग सम्पर्क स्थापित गर्न कठिन भएको उनले बताएका छन् ।
उनले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो मानवीय क्षति भएको तथा त्यसको तुलनामा मैलुङ, सल्लेटार, पैरेबेँसी, कैदलेटार र वेत्रावती क्षेत्रमा पनि अकल्पनीय क्षति भएको बताएका छन् ।
उनका अनुसार खोलाको किनारमा दर्जनौँ शव देखिएका छन् । परिवारका सदस्यले पहिचान गरेका शवसमेत व्यवस्थापन गर्न प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबिना केही गर्न नमिल्ने’ जवाफ पाउने गरेको उनले बताएका छन् ।
बाढीमा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको उनले बताए । बाँकी सुरक्षाकर्मीसमेत पर्याप्त खाना र पानीबिना उद्धार तथा सुरक्षामा खटिनुपरेको अध्यक्ष अर्यालले बताएका छन् ।
अर्यालले मरणासन्न अवस्थामा रहेका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै निकायसँग समन्वय गरी हेलिकप्टरको प्रतीक्षा गर्दा पनि तत्काल सुनुवाइ नभएको बताएका छन् ।
घाइतेलाई कालिकास्थान हुँदै जीवजिवे अस्पताल र त्यसपछि करीब १० घण्टापछि धुन्चे अस्पताल पु¥याउनुपर्ने अवस्था आएको उनले बताएका छन् ।
उनले भने, ‘हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ ।’
अर्यालले गृहमन्त्रीको सचिवालयबाट आफूलाई फोन गरी नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न आग्रह गरिएको पनि बताएका छन् । आफूले उठाएको विषय राजनीतिक नभई प्रभावित नागरिकको वास्तविक अवस्थाको प्रतिनिधित्व भएको उनले बताए ।
आफू आबद्ध एमालेले आकस्मिक सचिवालय बैठक बसेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेको उल्लेख गर्दै अर्यालले परिणामविहीन रूपमा सामाजिक सञ्जाल रङ्ग्याउने काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
उनले पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक आफूलाई पार्टीका अन्य नेताले खोजी नगरेको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेलगायतका नेता तथा सहयोद्धाले भने चासो र चिन्ता व्यक्त गरेको उनले बताएका छन् ।
‘परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ । यसले पीडितलाई थप पीडा दिनेछ,’ उनले भने ।
अर्यालका अनुसार हाल आफ्नो क्षेत्रका करिब ३५० प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ ।
कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायत सहयोग प्राप्त भएको र त्यसले थप तीन दिनसम्म धान्ने अवस्था रहेको उनले बताएका छन् । प्रभावितले विद्यालयको कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउनुपरेको छ ।
स्थानीय मनकारी नागरिकले केही परिवारलाई आफ्नै घरमा आश्रय दिएर राखेको उनले बताएका छन् ।
नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक तथा बालबालिकाको संवेदनशील अवस्थाअनुसार विशेष सहयोग गर्न नसकिएको पनि अर्यालले बताएका छन् ।
नदी किनारमा ठूलो संख्यामा शव रहेको र ती सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिएको अर्यालले बताएका छन् । यसबाट संक्रमण फैलिन सक्ने जोखिम रहेकाले शवको खोजी तथा व्यवस्थापन तत्काल गर्नुपर्ने उनको माग छ ।
बिरामीको संख्या बढ्दै गएकाले तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।
पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा धेरै मानिस रहेको खबर आएको र त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको उनले बताएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
त्रिशूली नदीवारि र पारि फसेका तथा परिवारका सदस्यसँग सम्पर्कविहीन भएकाहरूलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्ने अर्यालले बताएका छन् ।
सहयोग गर्न इच्छुक विभिन्न संघसंस्थाले सम्पर्क गरिरहेको भन्दै उनले प्रभावित क्षेत्रमा सहयोग पुर्याउन आवश्यक सहजीकरण गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
घरबारविहीन, हराइरहेका व्यक्ति, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी घरको तथ्याङ्क संकलन भइरहेको उनले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीसँग बुधबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम बिहीबारदेखि सुरु गर्ने जानकारी प्राप्त भएको अर्यालले बताएका छन् ।
स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरमा ओझेल परेका क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम सुरु हुने आफूले विश्वास लिएको उनले बताएका छन् ।
‘आफन्त गुमाएका परिवार र घरबारविहीन जनताले राज्यको उपस्थितिको अनुभूति गर्न पाउनेछन् भन्ने विश्वास लिएको छु,’ अर्यालले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया