चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुट्यो : रसुवाका सीडीओ परियार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको बताएका छन् ।
सीडीओ परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताए । उनले भोटेकोशी नदी आसपासको क्षेत्रका नागरिकहरूलाई सुरक्षितस्थानमा बस्न आग्रह गरेका छन् ।
पहिरोपछि बनेको तालले फेरि बाढी आउने डरले तिब्बत (केरुङ सीमा क्षेत्र) मा चीनले उद्धार कार्य स्थगन गरेको छ ।
बीबीसीका अनुसार चिनियाँ अधिकारीहरूले नेपाल र तिब्बतबिचको भूमि सीमा ग्यारियोङ बन्दरगाहको माथिल्लो भागमा बनेको तालको पानी बढिरहेको बताएका छन्।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रमा उद्धारकर्ताहरूलाई अहिलेका लागि काम रोक्न भनिएको छ।
पहिरोका कारण बनेको तालले थप बाढीको जोखिम बढाएपछि चिनियाँ उद्धार टोलीलाई एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।
बाढीले ल्याएको गेग्रान थुप्रिएर नयाँ ताल बनेको र त्यसमा निरन्तर पानी जम्ने क्रम तीव्र बनेपछि चिनियाँ पक्षले उद्धार रोकेको बीबीसीले लेखेको छ।
नेपालको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोसीमाथि नदी थुनिएर ठूलो ताल बनेको र त्यो फुट्ने जोखिम रहेको भन्दै त्यसमुनिका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनेको छ ।
बाढी महाशाखाका अनुसार २०८३ भदौ १० गते भोटेकोसी (रसुवा) मा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूली नदीको बहाब सतर्कता तहभन्दा तल नै छ तर अझै उच्च सतर्कता अपनाउन आवश्यक छ ।
बाढी महाशाखाले चेतावनी दिँदै अगाडि भनेको छ, ‘चीन सरकारबाट प्राप्त सूचनाअनुसार, भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको हुँदा अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया