बंगलादेशका नागरिकको भेटभित्र सुनको दुई वटा क्याप्सुल
काठमाडौं । पेटभित्र क्याप्सुल आकारमा लुकाएर सुनजस्तो देखिने धातु ल्याउने बंगलादेशका नागरिक ३५ वर्षीय मोहम्मद रासेल हल्दारलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन ३१ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हल्दारलाई पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । उनी फ्लाई दुबईको उडान नम्बर एफजेड–११३३ मार्फत काठमाडौं आएका थिए ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङ एरियातर्फ जाँदै गरेका हल्दारलाई विमानस्थल सुरक्षा कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा नियन्त्रणमा लिएको थियो ।
सोधपुछका क्रममा उनले पेटमा १५ ग्राम सुन लुकाएर ल्याएको बताएका थिए । त्यसपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा गरिएको पेल्भिक एरियाको एक्स–रे परीक्षणमा उनको पेटभित्र शंकास्पद धातु देखिएको थियो ।
अस्पतालमा पाँच दिन निगरानीमा राखिएका हल्दारको स्वास्थ्यमा कुनै प्रतिकूल असर नदेखिएपछि शुक्रबार भदौ ५ गते शौच गराउँदा पेटबाट अन्दाजी १५० ग्राम तौल भएका पहेंलो सुनजस्तो देखिने क्याप्सुल आकारका दुई थान धातु बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हल्दारलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानूनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया