कांग्रेसको पुनरावलोकनको मुद्दा अन्तिम किनारा नहुँदासम्म महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । गगन थापा समूहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै गतिविधि गरेपछि शेरबहादुर देउवा पक्षले पुनरावलोकन मुद्दाको अन्तिम फैसला नहुँदासम्म महाधिवेशनका कार्यक्रम रोक्न माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

शुक्रबार शेरबहादुर देउवा पक्षका कानून व्यवसायीहरूले सर्वोच्च अदालतमा कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरेर निवेदन दिएका हुन् । देउवा पक्षको निवेदन सर्वोच्च अदालतका रजिष्टारको टेबुलमा दिइएको छ । रजिष्टारले निवेदनलाई अध्ययन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनेछन् ।

शेरबहादुर देउवा पक्षको तर्फबाट कांग्रेस नेता दीपक खड्काले निवेदन लिएर सर्वोच्च पुगेका हुन् । नेता मीन विश्वकर्माले रिट निवेदनमा महाधिवेशनका प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको बताएका छन् ।

निर्वाचन आयोग र सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकताको फैसला गगन थापालाई दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएका छन् । फैसला पुनरावलोकनका लागि देउवा र खड्काले निवेदन दिएपछि सर्वोच्चले निस्सा दिएको छ ।

गगन थापा समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याएर अगाडि बढेपछि शेरबहादुर देउवा पक्षले त्यसलाई रोक लगाउन सर्वोच्च गुहारेका हुन् ।

Published : Friday, 2026 August 21, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया