नीता निर्देशित ‘पार्वती’ सेन्सरबोर्डबाट पास, भदौ १२ देखि प्रदर्शन

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’सर्टिफिकेट प्राप्त गरेको छ ।

सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न पाउनेछन् ।

आउँदो भदौ १२ गते (शुक्रबार)देखि देशभरका फिल्म हलमा प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक ढुङ्गानाले खुशी व्यक्त गरेकी छिन् । सम्पूर्ण परिवारलाई साथमा बसेर फिल्म हेर्न उनले आग्रह गरेकी छिन् ।

‘हाम्रो चलचित्र ‘पार्वती’ सानो बाबुनानीदेखि हजुरबुबा–हजुरआमासम्म सबैले हेर्न मिल्ने भएको छ’, निर्देशक ढुङ्गानाले भनिन्, ‘माया, भावना र पारिवारिक सम्बन्धले भरिएको यो चलचित्र हेर्न नभुल्नुहोला ।’

फिल्मको ४ मिनेट लामो ट्रेलरले राम्रो प्रतिक्रिया पाएको निर्देशक ढुङ्गानाले बताएकी छिन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ट्रेलर रिलिज भएको छ ।

अटिजम भएकी दिदी र भाइबीचको कसिलो माया र स्नेहको कथामा बनेको यस फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन् । उनीहरूका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, र दिप्त प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक नीता ढुङ्गानाले तयार पारेकी हुन् । डाइलगरस्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन (डीओपी) र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् ।

यसअघि सार्वजनिक भएका ‘सुनको रेल’ र ‘दिदीबहिनी’ बोलका गीतहरू पनि रुचाइएका छन् । बाबुल गिरी र दीपक शर्माको संगीत रहेको फिल्मका गीतहरूमा हर्क साउद र बाबुल गिरीका शब्द तथा नरेन्द्र वियोगीको संगीत संयोजन र मिक्सिङ रहेको छ । गीतहरूमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ ।

हरिहर अधिकारी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् । फिलमको उपत्यका तथा उपत्यकाबाहिरको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

Published : Friday, 2026 August 21, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया