देउवा पक्षीय नेताहरूले महाधिवेशनको प्रक्रिया रोक्न माग गरेर सर्वोच्चमा निवेदन दिने

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरेका छन् ।

बिहीबार महाराजगञ्जस्थित नेपाली कांग्रेस राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टी कार्यालय, सानेपाले पार्टीको आधिकारिकताको मुद्दा अदालतमा बिचाराधीन रहेका बेला एकतर्फी रुपमा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै रोक्न माग गरेर अदालत जाने निर्णय गरेको हो ।

प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले महाराजगञ्ज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिएका छन् । ‘जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ,’ विश्वकर्माले भने, ‘शुक्रबारसम्म निवेदन दर्ता हुन्छ ।’

अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने देउवा पक्षीय नेताहरूको माग छ ।

कांग्रेसको पार्टी केन्द्रीय कार्यालय, सानेपाले पार्टीको वडा अधिवेशन २४ भदौमा हुने गरेर एकतर्फी रुपमा सार्वजनिक गरेर अदालतको मानहानी हुने गरेर गतिविधि गरेको देउवा पक्षीय नेताहरूले बताएका छन् ।

Published : Thursday, 2026 August 20, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया