बागमतीमा एमालेलाई समर्थन गर्ने उद्धवलाई राप्रपाद्वारा कारबाही, सांसद र साधारण सदस्यबाट समेत पदमुक्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्य (सांसद)बाट पदमुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संसदीय दलका नेता एवम् प्रदेश सभा सदस्य थापालाई पदमुक्त गर्ने निर्णय गरेको हो । थापासँगै एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्य सांसदहरूलाई पनि क्रमशः कारबाही गर्ने राप्रपाले निर्णय गरेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको नामबाट नेकपा (एमाले)का मुख्यमन्त्रीमा प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको भन्ने विषयमा छलफल भएको बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘बागमती प्रदेश सभामा पार्टीको निर्णय र निर्देशन विपरीत पार्टीको नामबाट नेकपा (एमाले)का मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको भन्ने विषयमा छलफल भयो ।’
‘पार्टीको कुनै पनि प्रकारणको निर्णय र समर्थन नभएको र पार्टीले बारम्बार निर्देशन दिँदाखेरी त्यो निर्देशनको उल्लंघन गर्दै प्रदेश सभा संसदीय दलका नेता, प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छभन्ने पत्र बुझाएकोमा निजलाई हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो,’ लिङ्देनले भने, ‘समयमा जवाफ समेत नदिएको, उक्त सिफारिसको समर्थन पनि फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्यसम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट पदमुक्त गर्ने सिफारिस गरेको छ ।’
अध्यक्ष लिङ्देनले भने, ‘हामीले साउन २० गते पार्टीको तर्फबाटै निर्णय गरेका छौँ, केन्द्रीय कार्यसम्पादन समितिको । केन्द्रीय कार्यसम्पादन समितिको निणयअनुसार उपयुक्त समयमा उचित निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको थियो । त्यो निर्णयमा सिद्धान्ततः कुनै पनि प्रचारको चलखेलमा, सत्ता निर्माणको र बिघठनको काममा सहभागी नहुने र कुनै विशेष निर्णय गर्नुप¥यो भने अध्यक्षले गर्नुपर्ने भन्ने जिम्मेवारी दिइएको थियो । त्यही बमोजिम हामीले २१ गते बागमती प्रदेश सभाका सबै सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालयमै बोलाएर निर्देशन र जानकारी गराएका थियौँ । लिखित रुपमा मौखिक रुपमा ।’
‘त्यसपछि प्रदेश सभाको संसदीय दलको बैठकमा जहाँ ११ जना प्रदेश सभा सदस्यहरूको उपस्थिति हुनुहुन्थ्यो । उहाँहरूले पार्टीको निर्देशन बमोजिम कसैलाई पनि हामी समर्थन गर्न नजाने पार्टीको निर्देशन बमोजिम हामी परिचालित हुने भन्ने निर्णय गरेको थियो,’ अध्यक्ष लिङ्देनले भने, ‘त्यसपछि पनि हामीले फेरि भदौ १ गते बागमती प्रदेश सभाको सरकारको समर्थन र विरोधका कुनै पनि पक्षमा राप्रपा संलग्न नहुने र अर्को निर्देशन नआएसम्म तटस्थ बस्ने भन्ने निर्देशन हामीले पठाएको र त्यही बमोजिम भदौ १ गते मधेश प्रदेश संसदीय दलले तटस्थ बस्ने निर्णय पनि गरेको छ ।’
पत्रकारहरूले आर्थिक चलखेल भएको भन्ने कुरा आएको छ नि भन्ने जिज्ञासाको जवाफमा अध्यक्ष लिङ्देनले भने, ‘अनुशासन उल्लंघनको विषय हो । एउटा पाटो भयो । अर्कोतर्फ एमालेले बिगतमा जस्तै जसरी सत्ता केन्द्रित गतिविधिमा दलहरूका बीचमा घेरा गर्ने जुन काम गर्थ्यो त्यो अहिले पनि एमालेले गरेको प्रष्टरुपमा आएको छ । एमालेले पार्टीलाई औपचारिक रुपमा सरकार निर्माणको क्रममा सहयोगको आग्रह पनि गरेको छैन । कुनै पत्र पनि लेख्ने र पार्टी कार्यालयमा आएर राप्रपा समर्थन चाहियो भन्ने आग्रह पनि नगरिकन प्रदेश सभा सदस्यहरूलाई हातमा लिने खालको प्रयास गरियो र अहिले जुन परिणाम बाहिर आएको छ यसबाट चलखेल भएको भन्ने कुरा प्रष्टै हुन्छ ।’
‘जसरी अनुशासनको कारबाही सिलसिलामा केही फरक मत देखाउने कोशिस गरियो सिलसिलेबद्ध योजनाबद्ध भएको हामीले ठानेका छौँ । अहिले संसदीय दलको नेतालाई कारबाही गरेका छौँ । अब सरकारमा जो जो सहभागी हुन्छन् उनीहरूलाई पनि कारबाही हुन्छ,’ अध्यक्ष लिङ्देनले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया