प्रलोभनमा परेर पार्टीको निर्णय विपरीत उद्धवले एमालेसँग घाँटी जोडेपछि १२ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्णय विपरीत एमालेका मुख्यमन्त्रीका दाबेदार किरण थापा मगरलाई सरकार बनाउन राप्रपाको लेटर प्याड दुरुपयोग गरेर समर्थन गरेपछि स्पष्टीकरण सोधिएको राप्रपाले जनाएको छ । संसदीय दलका नेता थापालाई १२ घण्टाभित्र स्पष्टीकरणको जवाफ दिन राप्रपाले निर्देशन दिएको छ । अन्यथा थापालाई राप्रपाले कारबाहीको तयारी गरेको छ ।

राप्रपाले बागमती प्रदेशमा सरकारमा सहभागी नहुने र सरकार बनाउने खेलामा पनि नलाग्ने निर्णय गरेको छ । दलका नेता थापाले एमालेलाई सरकार बनाउन समर्थन गरेपछि राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले बागमती प्रदेश प्रमुखलाई पत्र लेखेर थापालाई दलको नेताबाट हटाउन भदौ १ गते बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको र थापाले राप्रपाको लेटर प्याड दुरुपयोग गरेको तथा एमालेलाई सरकार बनाउन समर्थन नगरिएको भनेर पत्र पठाइसकेकी छिन् ।

राप्रपाले दलका नेता थापालाई १२ घण्टे स्पष्टीकरण सोधेपछि एमालेलाई तनाब सिर्जना भएको छ । बागमतीका प्रदेश प्रमुखले पनि राप्रपाभित्रको विवादका विषयमा गम्भीरतापूर्वक लिनुपर्ने माग उठेको छ ।

Published : Thursday, 2026 August 20, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया