संघीय अनुदान कोटाका शिक्षकहरूको पारिश्रमिक वृद्धि
काठमाडौं । सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले माध्यमिक तह (कक्षा ९–१०) मा अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब अब माध्यमिक तृतीय श्रेणी सरह हुने बताए ।
आधारभूत तह (कक्षा ६–८) मा अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम हुनेछ ।
सरकारले प्रारम्भीक बालविकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक पनि ५ हजारका दरले वृद्धि गर्ने निर्णय गरेको छ ।
निर्णयअनुसार अब संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपियाँबाट बढेर ४८ हजार ५८ रुपियाँ पुगेको छ ।
आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपियाँबाट ३८ हजार २०३ रुपियाँ कायम गरिएको छ ।
ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपियाँ थप गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार (ईसीडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपियाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपियाँ पुगेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया