भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता, दुई देशबीचको सैनिक सम्बन्धलाई सुमधुर बनाउन सहयोग

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फिर्ता भएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सेनाध्यक्ष सेठ पत्नी कोमल सेठसहित भारत फर्किएका हुन् । चार दिने औपचारिक भ्रमण सम्पन्न गरी सेनाध्यक्ष सेठ स्वदेश फिर्ता भएको नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सेनाध्यक्ष सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग के.सी.ले बिदाइ गरेका छन् ।

भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।

जनरल सेठले आफ्नो भ्रमणको दौरान राष्ट्रपति पौडेल, प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

भारतीय स्थल सेनाध्यक्ष जनरल सेठको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2026 August 19, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया