एमालेको प्रलोभना परेका राप्रपाका उद्धवको बिचल्ली, बागमतीमा किरणले सरकार बनाउने सम्भावना न्यून
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले केन्द्रीय कार्यसमितिको निर्णय विपरीत प्रलोभनमा परेर बागमती सरकार बनाउन एमालेलाई समर्थन गर्ने निर्णय गरेपछि हाइकमाण्डले सरकारलाई समर्थन गर्ने विषयमा कुनै निर्णय नभएको जनाएको छ ।
बुधबार राप्रपाका केन्द्रीय महामन्त्री एवम् सचिवालयका प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेश प्रमुखलाई पत्र लेखेर बागमती प्रदेशमा एमालेका मुख्यमन्त्रीका दाबेदार किरण थापालाई समर्थन नरहेको जनाएका हुन् ।
महामन्त्री गुरुङको पत्रमा भनिएको छ, ‘२०८३/०४/२० गते बसेको राप्रपा कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने, प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय दिनु पर्ने अवस्था सिर्जना भएमा पार्टीको वृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई प्रदान गरिएको र वागमती प्रदेश सभामा सरकार निर्माण सम्बन्धमा हुने मतदान र समर्थन प्रक्रियामा अर्को निर्देशन प्राप्त नभएसम्म तटस्थ बस्न मिति २०८३ भाद्र १ गते पार्टीको संसदीय दलको नेतालाई निर्देशन समेत गरेको पृष्ठभूमिमा पार्टीको कुनै निर्णय र निर्देशनबिना बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा राप्रपाका सदस्यहरूको समर्थन रहेको भनि बुझाइएको पत्रमा राप्रपाको सहमति नभएको हुँदा उक्त पत्रलाई मान्यता प्रदान नगर्न हुन अनुरोध छ ।’
यसअघि, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती संसदीय दललाई पत्र पठाउँदै भनेका छन्, ‘त्यस बागमती प्रदेशसभामा सरकार निर्माण सम्बन्धमा हुने मतदान र समर्थन प्रक्रियामा अर्को निर्देशन प्राप्त नभएसम्म तटस्थ बस्ने र सोही बमोजिम माननीय सदस्यहरूलाई ह्विप जारी गर्न निर्देशन गरिएको छ ।’
राप्रपा बागमतीका नेता थापाको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा बागमती प्रदेश सरकारबाट मिति २०८३÷४÷६ गतेका दिन माननीय इन्द्रबहादुर बानियाँको नेतृत्वको सरकारमा सहभागी भएको दल नेकपा (एमाले)को तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना मन्त्रीहरूले राजीनामा गरी सरकारबाट बाहिरिएको र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको र हाल इन्द्रबहादुर बानियाँले राजीनामा समेत गरेको हुँदा माननीय प्रदेश प्रमुखज्यूले आह्वान गर्नुभए अनुसारको समयसीमाभित्र नेपालको संविधान, २०७२ को धारा १६८ (२) अनुसार नयाँ सरकार निर्माण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट मुख्यमन्त्री पदका लागि माननीय प्रदेश सभा सदस्य किरण थापा मगरलाई प्रस्ताव गरेकोमा राप्रपाका १२ जना माननीय प्रदेश सभा सदस्य सहितको समर्थन रहेको ब्यहोरा अनुरोध छ ।’
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर बागमती प्रदेशमा सरकार बनाउन खोजेका छन् । एमालेले बागमतीमा मुख्यमन्त्रीका लागि आफ्ना सांसद किरण थापा मगरलाई अगाडि सारेका छ । राप्रपाको केन्द्रको निर्णय र निर्देशन विपरीत राप्रपाको दलका नेता उद्धव थापाले एकलौटीरुपमा एमालेलाई समथर्न गरेपछि राप्रपाका अध्यक्ष लिङदेनले केन्द्रबाट हस्तक्षेप गरेर एमालेलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई पठाएपछि बामगतीमा एमाले र नेकपाको सरकार बन्ने सम्भावना निकै कमजोर बनेको छ ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया