आशिकाले उछृङ्खल हर्कत देखाएपछि सभामुखद्वारा मर्यादामा रहन चेतावनी, त्यसपछि बैठक छाडेरै टाप

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले उछृङ्खल हर्कत गरेकी छिन् ।

सिंहदरबारस्थित संसद भवनमा मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा पराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएपछि प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी हुन् । सांसद तामाङले संसदीय मर्यादा विपरीतको आचरण र कार्य गरेको भन्दै आलोचना भएको छ ।

परराष्ट्रमन्त्री खनालले संसदमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । सोहीक्रममा परराष्ट्रमन्त्री खनालले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन पहल गर्ने जवाफ पनि दिएका थिए ।

सांसद तामाङले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउनेबारे प्रश्न उठाउँदा सभामुख डोलप्रसाद अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए ।

परराष्ट्रमन्त्री खनालले संसद बैठकमा जवाफ दिने बेला सांसद तामाङले पुनः प्रश्न सोध्न खोजेकी थिइन् । तर, सभामुख अर्यालले परराष्ट्रमन्त्रीले शून्य र विशेष समयमा गरिएका जिज्ञासाको जवाफ दिएकाले पूरक प्रश्न सोध्न नमिल्ने बताए । सभामुख अर्यालले सांसद तामाङलाई आसनमा बस्न आग्रह गरेका थिए ।

तर, सांसद तामाङले बस्न मानिन् । त्यसपछि सभामुख अर्यालले सभाको मर्यादामा रहन सांसद तामाङलाई निर्देशन दिएका थिए । सभामुख अर्यालले मर्यादामा बस्न निर्देशन दिएपछि अटेर गरेर रास्वपाकी सांसद तामाङ रिसाएर संसद बैठकबाट बाहिरिएकी हुन् ।

‘माननीय सदस्य आशिका तामाङलाई म सभाको मर्यादामा रहन निर्देश गछु,’ सभामुख अर्यालले भनेका छन् ।

रास्वपाकी सांसद तामाङले यसअघि पनि संसदमा यस्तै खालका उछृङखल र संसदीय मर्यादा विपरीतका कार्य गर्दै आएकी छिन् । सांसद तामाङको हर्कतबाट सभामुख अर्याल, सरकार र रास्वपामा समेत असन्तुष्टि बढेको छ ।

Published : Tuesday, 2026 August 18, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया