रेडक्रशको जग्गा खरिद घोटालामा सीआईबीद्वारा पदाधिकारीसहित पाँच जनालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रेडक्रश सोसाइटीको जग्गा खरिदमा घोटाला र ठगी कार्यमा संलग्न रहेको अभियोगमा पदाधिकारीसहितका पाँच जनालाई पक्राउ गरेको छ ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्याक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त भएको रेडक्रश सोसाइटी उपचार भएको अनियमितता छानबिन प्रतिवेदनको अध्ययनपछि सीआईबीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

सीआईबीका एसएसपी एवम् प्रवक्ता अनुपमशम्शेर जबराद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगपालिका वडा नं. ३ बस्ने बर्ष ५२ का राजेश देशमरु, नुवाकोटको समुन्द्रटार– ६ स्थायी वतन भइ हाल काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने बर्ष ५७ का उमेशप्रसाद ढकाल, भक्तपुरको चागुनारायण नगरपालिका वडा नं. ५ बस्ने बर्ष ५८ का मदनकृष्ण फोजु, उदयपुरको कटारी– ३ स्थायी वतन भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ बस्ने बर्ष ७० का संजीव थापा र काठमाडौं महानगरपालिका– १६ बालाजु बस्ने बर्ष ६७ का इन्द्रबहादुर के.सी. रहेका छन् ।

नेपाल रेडक्रश सोसाइटी संस्थाको लागि गोदाम घर सञ्चालनको लागि भक्तपुरमा जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रुपियाँ मूल्याङ्कन गरी बिचौलियालाई सो रकमबाट १ करोड ९३ लाख ७ सय ५० रुपियाँ दिएको अभियोग छ । जग्गा पनि शुरुमा भनिए अनुसार नभएको सीआईबीले जनाएको छ ।

भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआइबीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रेडक्रशका पदाधिकारी, कर्मचारी र बिचौलिया रहेका छन् ।

Published : Tuesday, 2026 August 18, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया