गिट्टी–बालुवामा लाखौँ कर हिनामिना, बसन्तापुरका स्थानीय आन्दोलित, राप्तीका अध्यक्ष काठमाडौंतिर

मसुरिया । दाङको राप्ती गाउँपालिकाको चक्रपथअन्तर्गत निर्माणाधीन खुरुरिया–बसन्तापुर सडकखण्डको काम गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिन अघि बढेको विषय बाहिर आएका बेला स्थानीयहरू आन्दोलित बनेका छन् ।

बसन्तापुरका स्थानीयवासी आन्दोलित भएपछि राप्ती गाउँपालिकाको मुख्यालय मसुरियामा खैलाबैला भएको छ । स्थानीयले सडक निर्माणका क्रममा गाउँपालिका र निर्माण व्यवसायीको मिलेमतोमा राप्ती नदीबाट राजस्व तथा रोयल्टी नतिरी गिट्टी–बालुवा प्रयोग गरिएको र यसबाट लाखौँ/करोडौँ रुपियाँ अनियमितता भएको आरोप लगाएका छन् । उनीहरूले सडक निर्माणको वास्तविक लागत, प्रयोग भएको नदीजन्य पदार्थ तथा त्यसबापत तिर्नुपर्ने राजस्वबारे निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।

स्थानीयले सञ्चारकर्मीहरूलाई बोलाएर आफ्ना कुरा राख्नेदेखि दोषी जनप्रतिनिधि र कर्मचारीहरूलाई गिट्टी, ढुङ्गा, बालुवाको राजस्व हिनामिना प्रकरणमा कारबाही माग गरेका छन् । स्थानीय सञ्चारकर्मी सन्देश भण्डारी क्षेत्रीसँगको अन्तरक्रियामा बसन्तापुरका स्थानीय आन्दोलित जनताले आफ्ना भनाइ समेत राखेका छन् ।

चक्रपथ निर्माणको ठेक्का दिइसकेपछि सो सडकको स्तरोन्नति र निर्माण कार्यमा प्रयोग हुने गिट्टी, ढुङ्गा, बालुवा प्रयोग भएको हुन्छ । सो प्रयोगवापत स्थानीय तहलाई राजस्व बुझाउनुपर्छ । तर, गाउँपालिकाले सो चक्रपथमा राजस्व नलिएको स्वीकार गरेको छ ।

स्थानीयवासी सडक निर्माणमा भएको भनिएको अनियमितताको विरोधमा आन्दोलनमा उत्रिएका बेला गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट भने काठमाडौंमा कर्मचारी सरुवा र विभिन्न भेटघाटमै व्यस्त रहेको जनप्रतिनिधिहरूले नै बताएका छन् ।

अध्यक्ष विष्टले राजनीतिक भेटघाट तथा आफूनिकट व्यक्तिहरूसँगका भेटका तस्बिर आफन्त तथा समर्थकमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको भन्दै स्थानीय तहमा आलोचना भइरहेको छ ।

यसबीच उनी प्रहरी चौकीमा प्रहरी निरीक्षकको दरबन्दी राख्न पहल गर्ने भन्दै प्रहरी महानिरीक्षकसँग भेटघाटमा समेत व्यस्त रहेको बताइएको छ । यद्यपि प्रहरी दरबन्दी तथा संगठन व्यवस्थापनको विषय गृह मन्त्रालयसँग समेत सम्बन्धित हुने भएकाले यसको पहल र प्रक्रियाबारे पनि स्पष्टता आवश्यक देखिन्छ ।

स्थानीयवासी सडक निर्माणमा उठेका प्रश्नको जवाफ खोज्दै आन्दोलित भइरहेका बेला गाउँपालिका नेतृत्व भने समस्याको स्थलगत समाधान र नागरिकसँग संवादभन्दा काठमाडौंका भेटघाट तथा सामाजिक सञ्जालका गतिविधिमा बढी केन्द्रित भएको आरोप लाग्नु आफैंमा गम्भीर विषय हो ।

आफ्नो नेतृत्वमा भएका कामको श्रेय लिन सामाजिक सञ्जालमा सक्रिय हुने तर, काममा प्रश्न उठ्दा त्यसको जिम्मेवारी कर्मचारी वा अन्य निकायमाथि थोपर्ने पुरानो प्रवृत्ति यसपटक पनि दोहोरिएको भन्दै अध्यक्ष विष्टको आलोचना हुन थालेको छ ।

अब आवश्यक कुरा आरोप–प्रत्यारोप होइन, खुरुरिया–बसन्तापुर सडकखण्डमा वास्तवमा के भएको हो भन्ने तथ्य सार्वजनिक गर्नु हो । निर्माणमा प्रयोग भएको नदीजन्य पदार्थको परिमाण, तिरेको राजस्व, लागत, भुक्तानी र निर्माणको गुणस्तरबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ। स्थानीय आन्दोलित भइरहेका बेला गाउँपालिका नेतृत्वले पनि सामाजिक सञ्जालमा फोटो राख्नुभन्दा उनीहरूका प्रश्नको जवाफ दिन र समस्या समाधानमा ध्यान दिनु उचित हुने स्थानीयको भनाइ छ ।

Published : Tuesday, 2026 August 18, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया