नामी इन्टरनेशनल स्कुलद्वारा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत

काठमाडौं । काठमाडौं जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुलले कक्षा ११ मा नयाँ भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

आइतबार काठमाडौंको कमलादीस्थित एकेडेमी हलमा आयोजित स्वागत समारोहमा नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । विविध कार्यक्रमहरू संचालन गरि कक्षा १२ का विद्यार्थीहरूले स्कुलमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई संगीत, नृत्य, नाटक तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूमार्फत स्वागत गरिएको थियो ।

विभिन्न नृत्यहरू प्रस्तुतिसंगै हास्यब्यङ्ग्य, खानपिन र आपसी अन्तरक्रियाले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

यसले नयाँ विद्यार्थीहरूलाई आफ्ना सिनियर तथा साथीहरूसँग परिचित हुने अवसरसमेत प्रदान गरेको छ ।

समारोहमा नामी स्कुलले २०८३ सालको राष्ट्रिय परिक्षा बोर्डको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल कक्षा १२ का विद्यार्थीहरूलाई सम्मान गरेको थियो ।

कार्यक्रममा नामी ईन्टरनेशनल स्कुलले विद्यार्थीहरूको मेहनत र सफलताको प्रशंसा गर्दै उनीहरूको उपलब्धिमा विद्यालय नेतृत्व, शिक्षक–शिक्षिका, संयोजक, कर्मचारी तथा अभिभावकहरूको योगदानलाई पनि स्मरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल अनिशा पाण्डेले नयाँ विद्यार्थीहरूलाई सम्बोधन गर्दै नामीमा बिताउने दुई वर्षलाई अधिकतम उपयोग गर्न, आफ्नो रुचि पहिचान गर्न, नयाँ अवसरमा सहभागी हुन, आफ्नो क्षमता खोज्न र सिकाइको यात्रालाई रमाइलो बनाउन प्रेरित गरेकी छिन् । उनले विद्यार्थीहरूलाई आफ्नै लक्ष्य निर्धारण गर्दै आफ्नो यात्रा आफैं निर्माण गर्न आग्रह गर्दै भनिन्, ‘आफ्नो यात्रा आफैं निर्माण गर्नुहोस् र यी दुई वर्षलाई आफ्नै तरिकाले अर्थपूर्ण बनाउनुहोस् ।’

नामी स्कुलमा कक्षा ११ मा हालसम्म ३,०५० भन्दा बढी विद्यार्थीहरू भर्ना भइसकेका छन्, जसमध्ये धेरैले नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालय र कलेजहरूमा उच्च शिक्षा हासिल गर्दै आएका छन् ।

नामी इन्टरनेशनल स्कुलले नेपालमा गुणस्तरीय, व्यावहारिक र विद्यार्थी–केन्द्रित शिक्षाको विकासमा निरन्तर योगदान गर्दै आएको छ ।

शैक्षिक उत्कृष्टतासँगै प्रविधि, अनुसन्धान, सिर्जनशीलता, उद्यमशीलता, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिलाई जोड दिँदै नामीले विद्यार्थीहरूलाई बदलिँदो विश्वका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास विकास गर्ने अवसर प्रदान गर्दै आएको छ ।

नेपाल तथा विदेशमा उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई तयार पार्दै नामीले आधुनिक शिक्षण अभ्यास र विश्वव्यापी अवसरलाई नेपाली शिक्षा प्रणालीसँग जोड्ने प्रयास स्कुलले गरिरहेको छ ।

समारोहमा नामीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ), वरिष्ठ व्यवस्थापन, विभागीय प्रमुखहरू, संयोजकहरू, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Published : Monday, 2026 August 17, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया