कांग्रेस सांसद शाहद्वारा बर्गद्दा घटनका मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति र घाइतेहरूको उपचारको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले कपिलवस्तुको बर्गद्दा घटनामा मृत्यु भएका अरुण यादवलाई शहीद घोषणा र क्षतिपूर्तिको माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद शाहले बर्गद्दा घटनामा घाइते भएका सबैको उपचार खर्चको समेत माग गरेका छन् । उनले सुनसरी घटना र कपिलवस्तुको बर्गद्दा घटना एउटै प्रकृतिको हुँदा समेत मृतक र घाइतेका विषयमा दोहोरो मापदण्ड अपनाइएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सांसद शाहले भने, ‘कपिलवस्तु घटनाका मृतक स्व.अरुण यादवलाई तत्काल शहीद घोषणा गरी घाइतेहरूको हालसम्मको पूर्ण उपचार खर्चको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

‘सुनसरी घटनाका पीडितलाई शहीद घोषणा, परिवारका सदस्यलाई सरकारी जागिर र राहतको व्यवस्था गर्दा कपिलवस्तुको बर्गद्दाका पीडितले भने उपचार खर्च समेत नपाएको गुनासो छ,’ कांग्रेसका सांसद शाहले भने, ‘न्याय भनेको भूगोल समुदाय वा राजनीतिक पहुँचका आधारमा बाँडिने बस्तु होइन ।’

उनले भने, ‘संविधान सबै नागरिकलाई समान संरक्षणको हक दिएको छ । तर, सरकारले उस्तै प्रकृतिका घटनामा एउटा थप कडा कदम चाल्ने, अर्को ठाउँमा पीडितको आवाज दबाउने काम गर्छ त्यसले नागरिक राज्यप्रतिको विश्वास गुम्दै जान्छ ।’

‘२०८२ चैत्र ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ बर्गद्दामा भएको सम्प्रदायिक तनाब र हालै सुनसरीमा दोहोरिएको घटनाको प्रकृति पृष्ठभूमि र सम्वेदनशीलता पूर्णता एउटै थियो,’ उनले भने ।

‘दुबै घटनाले सामाजिक सद्भाव, भाइचारा र स्थानीय शान्ति सुरक्षामाथि गम्भीर आघाट पु¥याएको थियो । तर, दुःखको कुरा यी दुई समान प्रकृतिका घटनामा राज्यको उपस्थिति र न्याय सम्पादनको तरिका भने सर्वदा फरक र बिभेदकारी देखियो,’ सांसद शाहले भने ।

‘एउटा घटनामा सरकारले देखाएको अशोभाविक तत्परता, राहत, क्षतिपूर्ति र कारबाहीको तदारुकता, अनि अर्को घटनामा अपनाइएको मौनता, उदाशीनता र फितलो अनुसन्धानले राज्यको दोहोरो मापदण्डलाई नाङ्गो रुपमा उदाङ्गो पारेको छ,’ सांसद शाहले भने ।

‘देशका विभिन्न भागमा श्रीङ्खलाबद्धरुपमा घटिरहेका साम्प्रदायिक घटनाहरू र त्यसमा सरकारले देखाएका पक्षपातपूर्ण व्यवहारप्रति सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद शाहले भने ।

Published : Monday, 2026 August 17, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया