रोल्पा र जाजरकोटका पहिरो पीडितलाई छिटो राहत दिन कांग्रेस सांसद घिमिरेको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद बासुदेव घिमिरेले केही दिनदेखिको वर्षाका कारण रोल्पा, जाजरकोटगायत देशका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद घिमिरेले बाढी र पहिरामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
उनले प्राकृतिक विपद्का कारण घाइते भएका नागरिकहरूको तत्काल उद्धार तथा निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
बाढीपहिराका कारण विस्थापित हुन पुगेका परिवारहरूलाई तत्काल गाँस, बास र कपाससहितको आवश्यक राहत सामग्री उपलब्ध गराउन सांसद घिमिरेले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘केही दिनदेखि अविरल आएको वर्षातका कारण रोल्पा, जाजरकोट लगायतका जिल्लाहरूमा मृत्युवरण गर्नुभएका व्यक्तिहरूप्रति म श्रद्धाञ्जलि व्यक्त गर्दछु, बाढीपहिरोबाट घाइते हुनुभएका व्यक्तिहरूलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरोस्, त्यसैगरी विस्थापित परिवारलाई राहतको व्यवस्था गरोस् भनी सम्माननीय अध्यक्षमार्फत नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु ।’
मुलुकका विभिन्न भागमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनिरहेका बेला संसद्मा सांसदहरूले उद्धार र राहतका कामलाई प्रभावकारी र द्रुत बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया