सभापति लामिछानेकै सामुन्ने प्रधानमन्त्री र सरकारविरुद्ध सभामुख अर्याल आक्रामक रुपमा प्रस्तुत
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई रूलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठक शुरू हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नमा जवाफ दिन रूलिङ गरेका हुन् । सभामुख अर्याल प्रधानमन्त्री शाह र सरकारमाथि कडा रुपमा प्रस्तुत भएका छन् । सरकार र प्रधानमन्त्री शाहप्रति यसअघि नरम रहँदै आएका सभामुख अर्यालले एकाएक आफूलाई कडा रुपमा प्रस्तुत गरेका हुन् ।
सभामुख अर्यालले प्रधानमन्त्री शाह र सरकारलाई रुलिङ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछाने पनि संसद बैठकमा उपस्थित रहेका थिए ।
‘प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ, यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जबाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।
सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रूलिङ गर्दा विपक्षी दलका सांसदहरूले समर्थन जनाएका छन् । सभामुख अर्यालले विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री शाहलाई रूलिङ गरिसकेकोले सभा सञ्चालनमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।
प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जवाफ दिनुपर्ने व्यवस्था छ । प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर सांसदहरूको जवाफ नदिएको भनेर आलोचना हुँदै आइरहेका बेला सभामुख अर्यालले प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया