पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिन्छ : संयोजक प्रा.डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सम्मेलनका संयोजक प्रा.डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा जारी नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा राष्ट्रिय भेलाका क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रा.डा.कोइरालाले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने उनले बताएका छन् ।

‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा विल्कुलै छैन,’ प्रा.डा.कोइरालाले भने, ‘जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ ।’

संयोजक प्रा.डा.कोइरालाले नेता डा.शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको बताए । उनले सभापतिमा डा.शेखर कोइराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत बताएका छन् ।

‘सभापति पदका लागि म इच्छुक छु तर, मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु,’ उनले भने ।

‘नयाँ र संगठित कांग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ,’ प्रा.डा.कोइरालाले भने, ‘नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ ।’

बहुमत भए तापनि सरकारले कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै उनले वर्तमान सरकारलाई सामान्य कामचलाउ सरकारको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बिचमै मध्यावधि चुनावमा जाने सम्भावनालाई राजनीतिमा नकार्न सकिँदैन ।’

Published : Saturday, 2026 August 15, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया