अदालतमा बिचाराधीन विषयमा बोल्नु हुँदैन, न्याय पाउँछु, प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास रहेको बताएका छन् ।
शनिबार महाराजगञ्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको आधिकारिकताबारे सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले धेरै बोल्न उपयुक्त नहुने बताए ।
‘विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ,’ देउवाले भने, ‘सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ । अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन । मलाई विश्वास छ, अदालतले न्याय दिनेछ ।’
देउवाले आफू प्रेस स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको लागि अति आवश्यक भएको बताएका छन् ।
उनले आफूलाई सुदूरपश्चिमले धेरै दिएपछि आफूले अझै गर्नुपर्ने बाँकी काम रहेको बताएका छन् ।
‘म जहाँ भएपनि सुदूरपश्चिममा मैले केही कामहरू बाँकी छन्, त्यो पुरा गर्नु बाँकी छ,’ देउवाले भने, ‘सुदूरपश्चिमका जनताले मलाई सहयोग गरेका छन् । सुदूरपश्चिमका जनताप्रति म आभारी छु ।’
देउवाले प्रेसले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने धारणा राखेका छन् । ‘प्रेस स्वतन्त्रता स्वतन्त्र पत्रकारिताका लागि अति आवश्यक कुरा हो,’ देउवाले भने, ‘मेरो पक्षमा छ, मेरो पक्षमा छैन कुरा होइन नि । प्रेस व्यक्ति पूजा होइन नि । प्रेसले त निष्पक्ष हेर्ने हो । राम्रो गरेको छ कि छैन भनेर हेर्ने उसको काम हो ।’
देउवाले आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताए । प्रेसले आफ्नै आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘प्रेसको सन्दर्भमा उसको आफ्नो आचारसंहिताको विषय हो,’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया