दुई उम्मेदवारलाई हराउँदै नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् ।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा पाण्डे निर्वाचित भएका हुन् । पाण्डेले १८८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
पाण्डेका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरेर पराजित भएका छन् ।
नाट्टाको अध्यक्षमा निर्वाचित पाण्डे एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक हुन् । पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ ।
नाट्टाको वरिष्ठ उपाध्यक्ष पदमा सुनिल शर्माले २५१ मतसहित विजयी भएका छन् । शर्माले विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरेका हुन् । उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मतका साथ विजयी भएकी छिन् ।
महासचिवमा राजकुमार देवकोटाले १५८ मतसहित विजयी भएका छन् । सचिवमा १९५ मतका साथ रमेश पराजुली निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा डिकी शेर्पा २०८ मतसहित विजयी भएकी छिन् । सह–सचिव÷सह–कोषाध्यक्ष पदमा भने १६६ मतका साथ जीवन कोइराला निर्वाचित भएका छन् ।
८ सदस्यीय कार्यसमितिको सदस्यमा स्मारिका थापा (२११ मत), प्रकाश लोहनी (२१० मत), नवीन गुरुङ (२०५ मत), दिनेश मैनाली (१८९ मत), सुमनलाल श्रेष्ठ (१८८ मत), स्वस्तिका प्रधान (१८४ मत), संकेत दाहाल (१६५ मत) र विभास पौडेल (१५८ मत)सहित निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता, र सदस्यहरूको बृहत्तर सहभागितामा प्रतिबद्धता जनाएका छन् । अध्यक्ष पाण्डेले डिजिटल नाट्टा मार्फत् सेवालाई आधुनिक बनाउने, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, र पर्यटन व्यवसायमा रहेका नीतिगत अड्चनहरू फुकाउन पहल गर्ने जनाएका छन् ।
‘नाट्टा’ पर्यटन व्यवसायीहरूको साझा संस्था हो । यो संस्थाले नै व्यवसायीहरूको हकहितमा आवाज उठाउने गर्छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया