गगन-विश्वले पटक पटक धोका दिए, सानेपाबाट नाटक मञ्चन भइरहेको छ, अदालतबाट न्याय पाउँछौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्यसमितिलाई निर्वाचन आयोगले गलत ढङ्गले वैधानिकता दिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले निर्वाचन आयोगका आयुक्तहरूको भूमिका र महामन्त्री गगन थापाको कार्यशैलीको पोल खोलेका हुन् । उनले निर्वाचन आयोगले तथ्य र विधानलाई नजरअन्दाज गरेको बताए ।

‘विधान विपरीत गरिएको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई निर्वाचन आयोगका दुई आयुक्तले आँखामा कालो पट्टी बाँधेर सदर गरिदिए,’ कार्यबाहक सभापति खड्काले भने ।

उनले आयोगले पार्टीको आन्तरिक विधान र प्रक्रियालाई नहेरी एकपक्षीय रूपमा निर्णय गरेको बताए । खड्काले विशेष महाधिवेशन बोलाउने प्रक्रिया गलत भएको बताए । उनले भने, ‘कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्छन् र सो माग बमोजिमको निर्णय केन्द्रीय कार्यसमितिले गर्नुपर्ने हुन्छ । तर, यहाँ महामन्त्रीले विधान विपरीत सिधै अधिवेशन बोलाएका हुन्, जुन हामीलाई कुनै पनि हालतमा मान्य छैन ।’

खड्काले विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद अहिले अदालतमा रहेको भन्दै सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । ‘विधान मिचेर गरिएका कामहरू धेरै समय टिक्दैनन्, हामीलाई विश्वास छ अदालतले विधानको मर्मअनुसार न्याय दिनेछ,’ उनले भने ।

खड्काले वर्तमान नेतृत्वले पार्टीको विधि र पद्धतिलाई तहसनहस पारेको भन्दै कार्यकर्ताहरूलाई सजग रहन आग्रह गरेका छन् ।

खड्काले तराई–मधेशमा भएको पछिल्लो घटना ट्रेलर मात्रै भएको बताउँदै फिल्म सुटिङ हुनै बाँकी रहेको बताएका छन् । उनले यस्ता घटनाबाट जोगिनका लागि कांग्रेस एकताबद्ध हुनुपर्ने बताए ।

‘हामीले २४ गते सम्झियौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ,’ कार्यबाहक सभापति खड्काले भने, ‘चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस् ।’

उनले भने, ‘त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातीय द्वन्द्वको घटनाले देशलाई थर्थर बनाएको अवस्था छ । मेरो अन्तरात्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ ।’

खड्काले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर छिमेकीसँग ध्यान पु¥याएर अघि बढ्न कांग्रेसकै आवश्यकता रहेको बताए ।

‘नेपालको राष्ट्रियतामा खतरा छ । त्यसलाई जोगाउनका लागि पहिलो शर्त हो नेपाली कांग्रेसको एकता । नवीन, संघीन जिम्मेवारीमा नेपाली कांग्रेस उभिएको छ,’ खड्काले भने, ‘यदी हामीले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर हामीले हाम्रा छिमेकीसँग ध्यान पु¥याएर अघि बढ्न सकेनौं भने भदौ २४ भन्दा ठूलो स्थिति आउने देखिन्छ । त्यसका लागि कांग्रेस एकताबद्ध हुन जरुरी छ ।’

आयोगले अवैधानिक समितिलाई मान्यता दिएको खड्काको भनाइ छ । निर्वाचन आयोगले पुराना नजिर र प्रक्रियालाई मिचेर थापा नेतृत्वकालाई मान्यता दिएको भन्दै खड्काले भने, ‘धम्क्याएको भरमा, तर्साएको भरमा निर्वाचन आयोगले हामीलाई हरायो ।’

उनले अब सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास जनाए । यसअघिको फैसला त्रुटीपूर्ण भएकाले सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको उनको भनाइ थियो ।

अझै पनि आफूहरू एकताको लागि प्रयासरत रहेको उनले बताए । विशेष महाधिवेशनको माग उठेदेखि अहिलेसम्म एकताका लागि थापा र विश्वप्रकाश शर्मासँग पटकपटक सहमति गर्दा पनि धोका भएको उनको भनाइ थियो ।

थापा र शर्माले आफूलाई दुई पटक धोका दिएको उनले सुनाए । पहिलो पटक विशेष महाधिवशेन नगर्ने सहमतिमा १५औं महाधिवेशनको कार्यतालिका ल्याइएको बताए । आमनिर्वाचन फागुनमा भएमा वैशाखमा पार्टी महाविधेशन गर्ने र निर्वाचन सरेमा फागुनै महाधिवेशन गर्ने थापा र शर्माले सहमति गरेको उनले उल्लेख गरे। तर, सहमतिविपरीत विशेष महाविधेशन गरिएको उनले बताए।

त्यस्तै, गत वैशाखमा पनि थापा आफै आएर सहमतिका लागि प्रस्ताव गरेको बताए। पछिल्लो तीन महिनामा लगातार भएका वार्तामा विशेष महाधिवेशनबाट आएको समिति र शेरबहादुर देउवा नेतृत्वको समितिमा मिलाएर जाने सहमति भएको उनले सुनाए ।

तर, अहिले आएर त्यो सहमति पनि तोडेको खड्काले सुनाए । ‘मलाई आएर गगन थापाजीले भन्नसक्नु भएको छैन, तर डा. शेखर कोइरालासँग खड्का दाइसँग भएको सहमति कार्यान्वयन गर्न नसक्ने बताएका छन् ।’

थापा पक्षले पार्टी एकता नचाहेको उनको आरोप छ । ‘विशेष महाधिवेशनको समिति नमिलाउँदासम्म विवाद यथावत रहन्छ,’ उनले भने, ‘तीन महिना गयो, नाटक मञ्चन भइरहेको छ, सानेपामा ।’

Published : Friday, 2026 August 14, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया