म नेता बनेर होइन, महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नागरिक बनेर स्वदेश फर्किएको बताएका छन् ।

बिहीबार स्वदेश फर्किएका देउवाले अपील जारी गरेर भनेका छन्, ‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु ।’

सभापति देउवाले सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना, प्रत्यालोचनाहरू हुनु स्वाभाविक रहेको पनि बताएका छन् । ‘मैले सधैँ भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु,’ उनले भने, ‘कानून र नीति विपरीत कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो ।’

देउवाले भने, ‘म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हीत, संविधान कानून र नैतिकता मूल्य मान्यताअनुरुप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन ।’

पाँच महिना लामो स्वास्थ्य उपचार सकेर पूण्यभूमि’मा फर्कन पाउँदा आफ्नो हृदय गहिरो भावनाले भरिएको देउवाले जनाएका छन् । ‘हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले मलाई पुनः आफ्नै घरतर्फ बोलाएका छन्,’ सभापति देउवाले भने, ‘सर्वप्रथम मेरो स्वास्थ्य बारे चासो, चिन्ता राख्ने र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

अंकगणितीय रूपमा संसद्मा सानो भए पनि २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनको हरेक खुटकिलोको नेतृत्वकर्ता कांग्रेस नै भएको सभापति देउवाले बताएका छन् । उनले कांग्रेसमा देखिएको असहमति र निराशा पनि तुरुन्तै समाधान हुनुपर्ने उनले बताएका छन् ।

‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ,’ देउवाले भने, ‘तसर्थ आम नेपाली कांग्रेसका नेता कार्यकर्ता, सुवेच्छुक, समर्थक, मतदातालगायत आम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो, सोही नीति अनुसार सबैको त्याग बलिदान र संर्घषलाई स्वीकार गरेर अघि बढ्न म अपील गर्न चाहन्छु ।’

सभापति देउवाले आफूले युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्न चाहेको समेत बताएका छन् । उनले भने, ‘युवा साथीहरू अघि बढ्नु पर्छ तर, त्यसको मतलब पाका र अनुभवी जति सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्युजको पछाडिभन्दा पनि नेपाली कांग्रेसको दायित्व नबिर्सिन आम नेता कार्यकर्ताहरूमा अनुरोध गर्न चाहन्छु ।’

Published : Thursday, 2026 August 13, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया