सत्ता र शक्तिको उन्मादमा प्रहरीको हुर्मत नलिनुस् माननीयज्यू ओली जस्तै भाग्नु पर्ला : नेता शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र प्रहरी संगठनमाथि लाञ्छना लगाउने र मनोबल गिराउने गरेर सार्वजनिक लेखा समितिमा केही सांसदहरूबाट भएको व्यवहारको आलोचना गरेको छ ।

राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सत्तापक्षीय सांसदबाट आईजीपी कार्कीलाई गरिएको व्यवहारको कडा शब्दमा आलोचना गरेका छन् । शाहीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सत्तापक्षीय माननीयज्यूले अब नेपाल प्रहरीका आइजीपीको सुरक्षा गर्ने अरे, अनि जसलाई भाटा हान्न मन लाग्यो, उहाँले भाटा हान्ने अरे !’

‘हिजो केपी शर्मा ओलीको पालामा महेश बस्नेतजी पनि यस्तै शक्तिको उन्माद देखिनुहुन्थ्यो । तर, समय सधैँ एउटै हुँदैन– भदौ २३–२४ को दिन आएपछि उहाँ भाग्नुपर्ने अवस्था आयो ।’

‘त्यसैले माननीयज्यूलाई आग्रह छ– सत्ता र शक्तिको हुर्मत नलिनुहोस्,’ राप्रपा संसदीय दलका नेता शाहीले नाम उल्लेख नगरेर रास्वपाका सांसद खगेन्द्र सुनारलाई चेतावनी शैलीमा भनेका छन्, ‘जनताको मतले दिएको शक्ति जनताको अधिकारको रक्षा गर्न प्रयोग गर्नुहोस् ।’

बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सांसद सुनारले आईजीपी कार्की र नेपाल प्रहरी संगठनको मानमर्दन हुने गरेर गैरसंसदीय हर्कतसहितको अभिव्यक्ति दिएका थिए । विवादित छविका रास्वपाका सांसद सुनारले बेनामी उजुरीलाई आधार बनाएर आईजीपी कार्कीविरुद्ध लाञ्छना लगाउनेदेखि लेखा समितिको बैठक बहिस्कार गरेर बीचमा उठेर हिँडेका थिए । सत्ता पक्षकै सांसद सुनारबाट भएको यो हर्कतको चौतर्फी आलोचना भइरहेको छ । सांसद सुनार विवादित व्यक्ति हुन् । सांसद हुनुभन्दा अगाडि उनीविरुद्ध एक दर्जन उजुरी र मुद्दाहरू प्रहरीमा परेका थिए ।

Published : Wednesday, 2026 August 12, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया