जेनजी आन्दोलनमा प्रहरी नाङ्गै सडकमा खटिदा कसैले देखेन, अहिले प्रमाणविहीन आरोप लगाइयो : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जेनजी आन्दोलनका क्रममा गाडी र प्रहरी चौकी जलाइएको स्मरण गर्दै प्रहरीले नाङ्गै डिउटी गर्दा कसैले पनि पीडा नसोधेको गुनासो गरेका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सिंहदरबारमा बसेको बुधबारको बैठकमा बोल्दै आईजीपी कार्कीले भदौ २३ र २४ गते प्रहरीका सयौँ गाडी र चौकीहरू जलाइएको बताए । त्यस बेला प्रहरी नाङ्गै ड्यूटी गर्नुपर्ने अवस्थामा आधारभूत आवश्यकता र बाध्यता कसैले नबुझेको बताए ।

जलेका प्रहरी चौकीहरू जनताले बनाइदिएको आईजीपी कार्कीले बताए । उनले प्रहरीको समस्या जनताले बुझेको बताए ।

लेखा समितिका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जुत्ता, मोजा र पोशाक खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएपछि आईजीपी कार्कीले राज्यले न्यूनतम साधनस्रोत समेत उपलब्ध नगराउँदा प्रहरीले मागेर र उधारोमा देशको सुरक्षा र चुनाव गराउनुपरेको बताए ।

‘पोहोर साल २३ र २४ गते पछाडि नाङ्गै ड्युटी ग¥या छ प्रहरीले । खाली खुट्टा ग¥या छ,’ आईजीपी कार्कीले भने, ‘युनिफर्म नभईकन ग¥या छ, साधनस्रोत नभई । एउटा पनि साधन, ५९३ वटा सवारी साधन जलेको छ काठमाडौंमा ।’

उनले भने, ‘चुनाव हुने झन्डै २० दिन अगाडि बल्ल दाताले दिएका सवारी साधन पाएर चुनाव गराएको हो । त्यो ६ महिनासम्म तैँले कसरी गाडी ल्याएर चलाइस् ? यहाँ गस्ती पेट्रोल कसरी ग¥या छस् ? सुरक्षाको प्रत्याभूति कसरी ग¥या छस् ? भनेर त कसैले प्रश्न सोधेन ।’

‘भगवानले आएर चलाएका थिएनन् नि ! हामीले चलाएको मागेर । र त्यतिखेर पनि हाम्रा बिग्रेका, भत्केका, क्षतविक्षत भएका चौकीहरू जनताले बनाइदेको हो,’ आईजीपी कार्कीले भने ।

‘जनता त्यति द्रवीभूत हुँदा राज्यले समयमा साधनस्रोत दिएको भए चुनाव अझ भव्य हुन्थ्यो होला नि !,’ उनले भनेका छन् ।

आईजीपी कार्कीले प्रहरीका लागि आवश्यक सामग्री खरिद गर्न खोज्दा विभिन्न अख्तियार र छानबिनको डर देखाएर फाइल रोक्ने वा पन्छिने प्रवृत्तिका कारण संगठनलाई असर परेको बताएका छन् ।

विगतको सुडान घोटाला काण्डको त्रासले गर्दा नेतृत्वमा पुगेकाहरू निर्णय गर्न डराउने गरेको र त्यसको प्रत्यक्ष असर फिल्डमा खटिने प्रहरीलाई परेको आईजीपी कार्कीले बताएका छन् ।

प्रहरी पनि देशको नागरिक भएको र उसले न्यूनतम मानवीय सम्मान पाउनुपर्ने उनले बताएका छन् । कार्कीले प्रमाणविहीन आरोप लगाएर संगठनको मनोबल गिराउने काम नगर्न चेतावनी समेत दिएका छन् ।

Published : Wednesday, 2026 August 12, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया