कांग्रेसको राष्ट्रिय भेला साउन २९ गते सुनिश्चित छ, कीर्ते पत्रको भ्रममा नपरौँ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला स्थागित भएको भनेर कीर्ते पत्र र हस्ताक्षर गरि केही व्यक्तिहरूले विभिन्न प्रचारबाजी गरेको भन्दै नेता मीन विश्वकर्माले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मंगलबार प्रेस नोट जारी गरेर नेता विश्वकर्माले कांग्रेसको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्मका लागि काठमाडौंमा सुनिश्चित भइसकेको बताएका छन् । उनले भने, ‘आदरणीय नेपाली कांग्रेसका जिम्मेवार साथीहरू, जयनेपाल । नेपाली कांग्रेसको राष्ट्रिय भेला यही श्रावण २९–३१ गते काठमाडौंमा हुने कुरा सुनिश्चित छ । कुनै पनि भ्रममा नपर्न अनुरोध गर्दछौं ।’

‘साथै नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रा.डा.शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, यही २८ गते दिनको १२ः०० बजे सभापति श्री शेरबहादुर देउवाको स्वदेश आगमन र भेलालाई सम्वोधन गर्नुहुने तथा अदालतबाट मुद्दाको पुनरावलोकन गर्ने आदेश ( अनुमति) समेत आइसकेपछि डराएको हतास मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभावी लेखेर संयोजकको कीर्ते हस्ताक्षर समेत गरि तथाकथित÷नक्कली÷कीर्ते विज्ञप्ति जारि गरेको पाइएकोले गम्भीर आपत्ति व्यक्त गर्दै त्यस्ता गतिविधि कसैले नगर्न नगराउन सचेत गराउँदछौं ।’

शेरबहादुर देउवा पक्षीय नेताहरूले साउन २९, ३० र ३१ गते काठमाडौंमा ३ दिन राष्ट्रिय भेला गर्न लागेका छन् । भेलालाई देउवाले सम्बोधन गर्नेछन् । सम्बोधन गर्नका लागि देउवा उपचार सकेर विदेशबाट साउन २८ गते मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन लागेका छन् ।

देउवा पक्षीले राष्ट्रिय भेला गर्न लागेको र सर्वोच्च अदालतले कांग्रेसको विवादबारे गरेको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको छ । सो निर्णयपछि गगन थापा समूह आत्तिएको छ । गगन समूहले राष्ट्रिय भेलालाई प्रभावित बनाउन विभिन्न फण्डाहरू गरिरहेको छ ।

गगन समूहले तयार पारेको राष्ट्रिय भेला स्थगित गरिएको भनेर भ्रम फैलाउन तयारी पारिएको कीर्ते पत्रहरू गगन समूहका साइबर सेनाले सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् ।

Published : Tuesday, 2026 August 11, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया