मेरो सुझाव बेवास्ता गरियो, विशेष महाधिवेशनको प्रक्रियाले पार्टीलाई कमजोर बनायो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाले पार्टीलाई कमजोर बनाएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफूहरूले शुरुदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आएको बताए । सुझावलाई बेवास्ता गरिँदा पार्टी अहिले विवाद र विभाजनको अवस्थातर्फ पुगेको उनले बताए ।

नेता सिंहले आन्तरिक समस्या समाधानका लागि विशेष महाधिवेशन उपयुक्त विकल्प नभएको आफ्नो पक्षको धारणा रहेको बताएका छन् । उनले नियमित महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

नियमित प्रक्रियाबाट कार्यकर्ताको समर्थन प्राप्त नेतृत्व आए पार्टी थप बलियो बन्ने उनले बताएका छन् ।

नेता सिंहले पार्टीलाई कमजोर बनाउने गतिविधिभन्दा पनि एकता कायम गर्दै अघि बढ्नुपर्ने बताए । आन्तरिक विवाद र ध्रुवीकरणले संगठनमा असर पार्ने भन्दै उनले नेतृत्व र कार्यकर्ताबीच सहमति तथा विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

कांग्रेसको संस्थागत संरचना र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्नुपर्ने उनले बताए । नेता सिंहले पार्टीलाई गुट र विभाजनभन्दा माथि उठाएर अघि बढाउनुपर्ने बताएका छन् ।

Published : Sunday, 2026 August 9, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया