चुनावअघि कांग्रेसको नेतृत्व फेरे प्रधानमन्त्री बन्छु भन्नेहरू स्वयं पराजित भए : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले चुनावअघि नै नेतृत्व फेरे कांग्रेस नेतृत्वमा सरकार गठन हुने भन्ने दाबी गलत पुष्टि भएको बताएका छन् ।

आइतबार काठमाडौंमा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका डा.महतले चुनावअघि नेतृत्व फेरे प्रधानमन्त्री बन्छु भन्नेहरू स्वयं पराजित भएको बताए ।

गगन थापाको नाम नलिई डा.महतले भने, ‘के दाबी गरिएको थियो भने आमनिर्वाचनअघि नै हाम्रो नेतृत्व भयो भने मात्रै आमनिर्वाचनमा परिणाम आउँछ पार्टीको पक्षमा, सरकार हामीले बनाउन सक्छौँ ।’

‘देशको शासनसत्ता नै चलाउने, प्रधानमन्त्री हुने भनिएको थियो,’ नेता डा.महतले भने, ‘उहाँ (गगन थापा) स्वयं पनि हार्ने परिस्थिति आयो ।’

आफूहरूले १५औँ महाधिवेशनमा निर्वाचन निष्पक्ष होस् भन्ने सुनिश्चितता खोजेको डा.महतले बताएका छन् ।

उनले त्यसको निष्पक्षता सक्रिय सदस्यताको टुंगो, विधान, अनुशासन र प्रतिनिधिको विषयमा निर्भर रहने बताए ।

Published : Sunday, 2026 August 9, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया