सर्वोच्चको निर्णयले कांग्रेस पुरानो अवस्थामा गइसक्यो, सभापति भनेको शेरबहादुर देउवा हो : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापालाई पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले चड्कन लगाएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ ले बाह्रबिसेमा आयोजना गरेको जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘मैले चड्कनै खोजेको भनेको त होइन, चड्कन राजनीतिक चड्कन खोजेको हो । त्यो चड्कन सर्वोच्च अदालतले दिइसक्यो ।’

बस्नेतले भने, ‘सम्मानित अदालतको अस्तिको निर्णयले त्यो चड्कन भेट्टाइसकेको छ ।’ उनले गगन थापाले निर्वाचन अघि आफू प्रधानमन्त्री बन्ने भनेर चटक देखाएको बताएका छन् । ‘चटक देखाएको हो नि । गगन थापाको त्यो चटकेको रङ अब उड्छ । अब फालियो,’ उनले भने ।

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस पुरानै अवस्थामा गइसकेको र अबको सभापति शेरबहादुर देउवा नै भएको नेता बस्नेतले बताएका छन् ।

‘अघि नेताहरूले भन्नुभयो– गगन थापालाई सभापति बनाएको प्रक्रिया मिलेन, त्यहाँ त्रुटि भयो, भएन भनेर,’ बस्नेतले भने, ‘कांग्रेस त पुरानो अवस्थामा गइसक्यो नि अब । त्यसकारणले अबको सभापति भनेको शेरबहादुर देउवा नै हो ।’

कांग्रेस नेता बस्नेतले आफूले फागुन २१ को चुनावमा खुला घात गरेको बताए । उनले आफूले अन्तर्घात नभई घात नै गरेको बताए ।

नेता बस्नेतले भने, ‘मेरा साथीभाइले सबैले सहयोग गरेको हो । मैले के को अन्तर्घात ? खुल्लै घात गरेको हो । पुराना नेताहरूको अनुहारै हे¥यो भने भोट आउँदैन भन्ने, म पनि पुरानाभित्र परेर टिकट नपाउने, शेरबहादुर देउवाको अनुहारै हेर्न हुन्न भनेर गगन थापाको हस्ताक्षर लिएर गएको होइन ? मैले सहयोग नगरेकै हो, जे सक्छौँ गर ।’

नेता बस्नेतले प्रश्न गर्दै भने, ‘अनुहार हेरेर पनि भोट आउँदैन भनेपछि किन सहयोग गर्ने ? आफू कहिल्यै नहार्ने शेरबहादुर देउवा, कांग्रेसको बहुमतै बहुमत बनाएर राख्नुभयो । उहाँको अनुहारले काम नहुने रे । गगन थापाको तर्साउने अनुहारले भोट आउने ?’

उनले आफूले सुरुदेखि नै गगनको चुनाव क्षेत्र नभएको भन्दै आएको बताए । उनले भने, ‘गगन थापाजीको आगामी निर्वाचनमा चुनाव क्षेत्र नै छैन भनेको थिएँ । उहाँ महामन्त्री हुनुहुन्थ्यो । कहाँ लड्ने भन्ने थाहा छैन । प्रधानमन्त्री हुने रे । प्रधानमन्त्री हुन त पहिला आफ्नो चुनाव जित्नुप¥यो ।’

Published : Saturday, 2026 August 8, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया