कांग्रेसको राष्ट्रिय भेला सफल बनाउन मोहन बस्नेतको संयोजनमा २५ गते युवाहरूको भेला हुने

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सफल बनाउन पूर्वतयारी स्वरुप युवा भेलाको आयोजना गरेका छन् ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको समन्वय तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिको आयोजनामा साउन २५ गते युवा भेला हुन लागेको हो । कांग्रेस नेता सुवास तिमल्सिनाका अनुसार भेला साउन २५ गते मध्यान्ह साढे १२ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा हुनेछ ।

युवा भेलालाई नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेतसहितले सम्बोधन गर्नेछन् ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले साउन २९, ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेका छन् । भेलालाई भव्य बनाउन विभिन्न कार्यक्रमहरू भइरहेका छन् । सोही क्रममा नेता बस्नेतले कांग्रेसका युवाहरूको भेला राखेका हुन् ।

राष्ट्रिय भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते काठमाडौं आउन लागेका छन् । देउवा आउने भएपछि कांग्रेसका लाखौँ कार्यकर्ता र नेताहरूमा उर्जा थपिएको छ ।

Published : Friday, 2026 August 7, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया