कांग्रेसको राष्ट्रिय भेलामा हामीले सोँचेभन्दा धेरै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहन्छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले सर्वोच्च अदालतको निर्णयले लाखौँ कार्यकर्ता तथा हजारौँ नेताहरू खुसी भएको भन्दै राष्ट्रिय भेलामा सोँचेभन्दा धेरै कार्यकर्ताको उपस्थिति हुने बताएका छन् ।

शुक्रबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा.कोइरालाले साउन २९ देखि शुरु हुने राष्ट्रिय भेलामा धेरै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहने बताए । उनले सर्वोच्च अदालतको निर्णयले कांग्रेसलाई एकताबद्ध गराउन झन् मद्दत मिलेको बताए ।

उनले भने, ‘राष्ट्रिय भेलाको बारेमा हामीले पहिलेदेखि नै निर्णय गरिसकेका छौँ, भेला हुन्छ भनेर । त्यो निर्णयले केही परिवर्तन ल्याउँदैन ।’

‘मलाई लाग्छ झन् आकर्षित भएर मान्छेहरू आउँछन् । उपस्थित हुन्छन्,’ डा.कोइरालाले भने, ‘जस्तो हामीले सम्झिएका थियौँ दश हजार÷बीस हजार मान्छेहरू आउँछन् भनेर, अब त मलाई लाग्छ धेरै मान्छेहरू आकर्षित भएर आउँछन् । त्यो मात्रै मलाई लाग्छ परिवर्तन भएको छ ।’

संयोजक डा.कोइरालाले सर्वोच्च अदालतको निर्णयले कांग्रेसलाई एकताबद्ध गर्ने संकेत रहेको बताए । उनले भने, ‘त्यस्तो लाग्छ मलाई ।’

डा.कोइरालाले पूर्णबहादुर खड्का, डा.शेखर कोइराल पनि राष्ट्रिय भेलालाई समर्थन रहेको बताए । पूर्णबहादुर खड्का र डा.शेखर कोइराला देखिनु भएको छैन नि भन्ने जिज्ञासामा संयोजक डा.कोइरालाले भने, ‘उहाँको समर्थन छ । पूर्णजीको स्वास्थ्य नराम्रो भएको हुनाले उहाँ आउन सक्नु भएन । शेखर दाई बिराटनगर हुनुहुन्छ । उहाँले पनि घर बनाउँदै हुनुहुन्छ । तपाईहरूलाई थाहा छदैछ । व्यस्त हुनुहुन्छ । त्यसैले आउन सक्नु भएन । सबैको समर्थन छ ।’

Published : Friday, 2026 August 7, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया