राष्ट्रिय भेलालाई सभापति देउवाले सम्बोधन गर्नुहुनेछ, सहभागी बनौँ : संयोजक डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भन्दै सहभागिताका लागि अनुरोध गरेका छन् ।

शुक्रबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर संयोजक डा.कोइरालाले साउन २९ गते हुन लागेको राष्ट्रिय भेलालाई सभापति देउवाले सम्बोधन गर्ने जनाएका हुन् ।

डा.कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्य दिशा तय गर्न यही २०८३ श्रावण २९–३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलाको आयोजना गरिएको कुरा सर्वविदितै छ ।’

‘भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूले पनि सम्वोधन गर्नु हुनेछ,’ डा.कोइरालाले भने, ‘यो ऐतिहासिक राष्ट्रिय भेलामा सहभागिताका लागि पार्टी संगठन, भ्रातृसंस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु ।’

उनले भने, ‘राष्ट्रसामु उपस्थित चुनौतिहरूको सामना गर्न–नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई एकतावद्ध गर्नु यो भेलाको मूल उद्देश्य हुनेछ ।’

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भै पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गर्दछु,’ संयोजक डा.कोइरालाले भने ।

देउवा पक्षीय नेताहरूले साउनको २९, ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेका छन् । भेलाले नेपाली कांग्रेसलाई एकतावद्ध गर्ने नेताहरूले बताएका छन् ।

१४औँ महाधिवेशनबाट निर्वाचन कार्यसमिति भएका कारण देउवालाई सभापतिका रुपमा नै डा.कोइरालाले सम्बोधन गरेको नेता डा.प्रकाशशरण महतले बताएका छन् । उनले भने, ‘हामी १४औँ महाधिवेशनबाट आएको कार्यसमिति हौँ । सर्वोच्च अदालतमा हाम्रो माग भनेको १४औँ महाधिवशनबाट आएको कार्यसमितिलाई नै आधिकारिकता मान्नुपर्छ भन्नेछ । सोही कारण शेरबहादुर देउवाज्यूलाई सोही आधारमा १४औँ महाधिवेशनको सभापति भनेका हौँ ।’

Published : Friday, 2026 August 7, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया